काठमाडौं — सरकारले सामाजिक सञ्जालमा सामग्री प्रकाशन गरेर आम्दानी गर्ने कन्टेन्ट क्रिएटरका लागि ५ प्रतिशत करको व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ।

आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आयकर संरचनाअनुसार नेपालबाहिर सफ्टवेयर वा विद्युतीय सेवा उपलब्ध गराएर विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्ने तथा YouTube र TikTok लगायत सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरी आम्दानी गर्ने व्यक्तिले प्राप्त रकममा ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ।

यो व्यवस्था सामाजिक सञ्जालबाट हुने विभिन्न प्रकारका डिजिटल आम्दानीमा लागू हुन्छ। YouTube AdSense, TikTok Creator Reward, Instagram bonus र Facebook in-stream ads लगायतबाट प्राप्त हुने आम्दानी करको दायरामा पर्ने उल्लेख गरिएको छ।

त्यस्तै, paid promotion, sponsored post, product review र affiliate commission जस्ता ब्रान्डसँग सम्बन्धित आम्दानीमा पनि ५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ। Paid online course, डाउनलोड गर्न मिल्ने template तथा अनलाइन बिक्रीबाट हुने आम्दानीसमेत यसअन्तर्गत समेटिएको Republica ले जनाएको छ।

सामाजिक सञ्जालबाट प्राप्त रकम नेपाली बैंक खातामा भित्रिँदा बैंकले स्रोतमा कर कट्टी (TDS) गर्ने व्यवस्था छ। यसअनुसार सम्बन्धित व्यक्तिले प्राप्त गर्ने रकमबाट ५ प्रतिशत कर बैंकमार्फत स्रोतमा नै कट्टी हुन्छ। सरकारले अघिल्लो आर्थिक वर्षदेखि सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटरको आम्दानीमा यस्तो कर लागू गरेको थियो र चालु आर्थिक वर्षमा पनि यसलाई निरन्तरता दिएको हो।

डिजिटल प्लेटफर्ममार्फत आम्दानी गर्ने नेपालीको संख्या बढिरहेको अवस्थामा यो व्यवस्थाले कन्टेन्ट क्रिएटर, अनलाइन सेवा प्रदायक तथा अन्य डिजिटल माध्यमबाट विदेशी मुद्रामा आम्दानी गर्ने व्यक्तिको कर दायित्वलाई प्रत्यक्ष प्रभाव पार्नेछ।