काठमाडौं। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७ किलो १७० ग्राम लागुऔषध गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चेकजाँचका क्रममा गाडी नरोक्दै भागेका चालक भने फरार भएका छन्।
प्रहरीले दिएको जानकारीअनुसार शनिबार साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद अवस्थामा देखेपछि रोक्न खोजिएको थियो। तर चालकले गाडी नरोकी तीव्र गतिमा अगाडि बढाएका थिए।
त्यसपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उक्त गाडीलाई पछ्याएको थियो। प्रहरीको पीछा गर्ने क्रममा चालकले दुधौरा खोलाको पुलपारि जंगलछेउमा गाडी इन्जिन चालु अवस्थामै छाडेर फरार भएका थिए।
प्रहरी टोलीले आसपासको जंगल क्षेत्रमा घेराबन्दी गरी खोजतलास गरे पनि चालकलाई फेला पार्न सकेन। खोजीका क्रममा चालक भागेको दिशातर्फ एउटा किप्याड मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको गाडीको पछाडिको डिक्की जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको २३७ किलो १७० ग्राम गाँजा बरामद भएको हो। प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।
घटनामा संलग्न फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बरामद लागुऔषध कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने तयारी थियो भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको छ।
स्रोत: जिल्ला प्रहरी कार्यालय बाराको जानकारी तथा हिमाल प्रेस र अन्य सञ्चारमाध्यम।









० प्रतिक्रिया