काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित लोकतान्त्रिक चोकमा सार्वजनिक जग्गामा पर्खाल निर्माण तथा संरचना भत्काउने विषयलाई लिएर नेपाली कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसी र तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष श्यामकृष्ण महर्जनबीच विवाद चर्किएको छ।
विवादित स्थानमा डोजर (जेसीबी) प्रयोग गरी संरचना भत्काइएपछि दुवै पक्षबीच सवाल–जवाफ भएको हो। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि केसीले त्यसप्रति गम्भीर आपत्ति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेका छन्।
केसीका अनुसार परिवारका अन्य सदस्यको नाममा रहेको जग्गाको सिमाना निर्धारण, चौघेरा तथा कम्पाउन्ड निर्माण गरी कानुनी रूपमा आर्जित सम्पत्तिको संरक्षण गर्ने कार्य भइरहेको अवस्थामा भएको संवादलाई अतिरञ्जित गरी समाजमा नकारात्मक धारणा निर्माण गर्ने प्रयास गरिएको छ।
उनले अपूर्ण दृश्यका आधारमा घटनाको निष्कर्ष निकाल्नु न्यायोचित नहुने बताउँदै भिडियो प्रसारण गर्ने पक्षलाई पूर्ण भिडियो, वास्तविक पृष्ठभूमि र सम्पूर्ण संवाद सार्वजनिक गर्न आग्रह गरेका छन्।
आफ्नो राजनीतिक यात्रा पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता, नागरिकको आवाज र गलत प्रवृत्तिविरुद्धको संघर्षमा केन्द्रित रहेको उल्लेख गर्दै केसीले अपूर्ण भिडियोमार्फत आफ्नो राजनीतिक योगदानलाई कमजोर बनाउने प्रयासको प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
यस्तै, सार्वजनिक भिडियो संवादका क्रममा केसीले पूर्वसूचना र सरोकारवालाबीच समन्वय नगरी सार्वजनिक जग्गामा संरचना भत्काइएको भन्दै आपत्ति जनाएको देखिन्छ। उनले कानुनी प्रक्रिया र सहजीकरणबिना काम गरिएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।
यता, वडाध्यक्ष श्यामकृष्ण महर्जन पक्षले भने सार्वजनिक जग्गा मिचिएको विषय पहिलेबाटै उठ्दै आएको र सोही सन्दर्भमा काम अघि बढाइएको स्पष्टीकरण दिएको छ। वडाको बजेटबाट पर्खाल तथा कम्पाउन्ड निर्माण गर्ने प्रस्ताव गरिएको भए पनि हाल संरचना भत्काउनुपर्ने अवस्था आएको उनको भनाइ रहेको छ।
सडक विस्तार तथा बाटोको विषयमा समेत दुवै पक्षबीच मतभिन्नता देखिएको छ। प्रस्तावित सडकको बाटो मिलाउने र बाँकी काम आगामी नेतृत्वसँग समन्वय गरेर अघि बढाउने धारणा वडाध्यक्ष पक्षले राखेको छ।
यसैबीच, घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि केसीले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक चोकमा भएको संवादलाई पूर्ण पृष्ठभूमि र सम्पूर्ण अंशसहित प्रस्तुत नगरी अतिरञ्जित तथा अपूर्ण रूपमा सार्वजनिक गरिएको आरोप लगाएका छन्।
उनले आफूले तथ्यमा आधारित आलोचना र सुझावलाई सधैँ स्वागत गर्ने उल्लेख गर्दै व्यक्तिगत रूपमा नभई गलत प्रवृत्तिविरुद्ध आफ्नो आवाज उठेको स्पष्ट पारेका छन्।
तारकेश्वरमा सार्वजनिक जग्गामा पर्खाल निर्माणको विषयले विवाद चर्कियो, केसी र वडाध्यक्ष महर्जनबीच सवाल–जवाफ
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित लोकतान्त्रिक चोकमा सार्वजनिक जग्गामा पर्खाल निर्माण तथा संरचना भत्काउने विषयलाई लिएर नेपाली कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्व…









० प्रतिक्रिया