गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ (World Police Summit) मा सहभागी हुन शुक्रबार साँझ यूएई प्रस्थान गरेका छन्। यूएई सरकारको औपचारिक निमन्त्रणामा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री गुरुङ साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईतर्फ प्रस्थान गरेका हुन्।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार गृहमन्त्री गुरुङ सम्मेलनका विभिन्न सत्र र उच्चस्तरीय भेटघाट सम्पन्न गरी आगामी मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
सम्मेलनमा के-के विषयमा छलफल हुँदैछ?
विश्वभरका सुरक्षा निकायका प्रमुख, नीति निर्माता तथा सुरक्षा प्रविधि विज्ञहरू भेला हुने विश्व प्रहरी शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, आधुनिक सुरक्षा प्रविधिको विकास र अपराध नियन्त्रणका नवीनतम अभ्यासहरूमाथि बृहत् छलफल हुनेछ।
गृह मन्त्रालयका अनुसार सम्मेलनमा उच्चस्तरीय नीतिगत बहस, विषयगत तथा प्राविधिक सत्र, राउन्ड टेबल बैठक, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय सुरक्षा प्रदर्शनी र विश्व प्रहरी पुरस्कार वितरण लगायतका महत्वपूर्ण कार्यक्रमहरू तय गरिएका छन्।
यस वर्षको सम्मेलनमा सुरक्षा र प्रविधिसँग सम्बन्धित १४ वटा प्रमुख विषयगत क्षेत्रहरू समेटिएका छन्। जसमा विशेषगरी:
– कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित प्रहरी सेवा र डिजिटल रूपान्तरण,
– साइबर आक्रमण र बढ्दो डिजिटल ठगी नियन्त्रण,
– क्रिप्टो कारोबार र अन्तर्राष्ट्रिय वित्तीय अपराध नियन्त्रण,
– स्वचालित रोबोट, ड्रोन र मानवीय क्षमताको समन्वय,
– अपराध अनुसन्धान, गुप्तचर सूचना र आधुनिक फरेन्सिक प्रविधि,
– लागुऔषध, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणाली र भूउपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षा जस्ता समसामयिक विषयहरू समावेश छन्।
नेपाल र नेपाल प्रहरीलाई के फाइदा पुग्नेछ?
गृहमन्त्री गुरुङको यो भ्रमणलाई नेपालको आन्तरिक सुरक्षा संयन्त्रलाई आधुनिक बनाउने र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
गृह मन्त्रालयले जनाएअनुसार सम्मेलनका क्रममा मन्त्री गुरुङले यूएई लगायत अन्य मित्रराष्ट्रका आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरू तथा सुरक्षा प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। ती भेटघाटमा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने विषयमा ठोस छलफल हुने अपेक्षा गरिएको छ।
विशेषगरी पछिल्लो समय नेपालका लागि प्रमुख चुनौती बनिरहेको मानव बेचबिखन, मानव तस्करी, सीमापार संगठित अपराध, लागुऔषध ओसारपसार र साइबर अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउन यो सम्मेलन फलदायी हुने मन्त्रालयको विश्वास छ। यसका साथै, नेपाल प्रहरीको आधुनिकीकरण, अत्याधुनिक प्रविधि हस्तान्तरण र नेपाली सुरक्षाकर्मीहरूका लागि विशेषज्ञ तालिम प्रदान गर्न सक्ने सम्भावित अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको पहिचान गर्ने अवसर समेत यस भ्रमणबाट प्राप्त हुनेछ।
नेपाल र यूएईबीच श्रम, कूटनीति र सुरक्षा सहकार्यका विषयमा पछिल्लो समय संवाद बाक्लिँदै गएको सन्दर्भमा गृहमन्त्रीको दुबई भ्रमणलाई अर्थपूर्ण मानिएको छ।









० प्रतिक्रिया