काठमाडौं । देशभर नियमित मनसुनका बीच धान रोपाइँ तीव्र रूपमा अघि बढिरहेको अवस्थामा हालसम्म ८३.३० प्रतिशत रोपाइँ सम्पन्न भएको सरकारी तथ्यांकले देखाएको छ। तर अधिकांश किसानले यस वर्ष पनि पर्याप्त रासायनिक मल नपाउँदै रोपाइँ गर्नुपरेको गुनासो गरिरहेका बेला कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले आगामी १५ दिनभित्र मलको आपूर्ति सहज हुने बताएका छन्।
शनिबार धनुषामा राष्ट्रिय कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा देखिएको असहजताका कारण केही समय मल अभाव भएको भए पनि अहिले विभिन्न नाकाबाट पर्याप्त परिमाणमा रासायनिक मल नेपाल भित्रिरहेको जानकारी दिइन्। उनका अनुसार मौजुदा मल किसानसम्म छिटो पुर्याउने काम तीव्र गतिमा भइरहेको छ र आगामी १५ दिनभित्र अधिकांश किसानले सहज रूपमा मल प्राप्त गर्ने अपेक्षा गरिएको छ।
मन्त्री चौधरीले कृषि उत्पादनमा रासायनिक मल र विषादीमाथिको अत्यधिक निर्भरता घटाउँदै प्रांगारिक खेतीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि औँल्याइन्। किसानसँगको अन्तरक्रियामा उनले दीगो कृषि प्रणाली विकास गर्न आधुनिक प्रविधिसँगै जैविक खेतीलाई पनि प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरिन्।
यसअघि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको भेटमा मन्त्री चौधरीले प्रदेशका १० स्थानीय तहमा ‘नमुना कृषि कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेकी थिइन्। यस कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि, प्राविधिक सेवा विस्तार, किसानलाई तालिम, कृषि परामर्श तथा नयाँ प्रविधिको प्रयोगलाई एकीकृत रूपमा अघि बढाइने योजना रहेको जनाइएको छ।
कृषि विभागको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९७.९३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि कर्णालीमा ८८.२२ प्रतिशत, बागमतीमा ८७.०९ प्रतिशत, गण्डकीमा ८०.७२ प्रतिशत, लुम्बिनीमा ८०.६५ प्रतिशत, मधेशमा ७८.६० प्रतिशत र कोशी प्रदेशमा ७३.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।
यद्यपि, देशका विभिन्न क्षेत्रमा किसानहरूले रोपाइँको मुख्य समयमा रासायनिक मल अभाव झेल्नुपरेको भन्दै समयमै आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन्। कृषि क्षेत्रका सरोकारवालाले धान रोपाइँ लगभग अन्तिम चरणमा पुगेपछि आउने मलको प्रभाव सीमित हुन सक्ने भएकाले आगामी मौसममा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्।

० प्रतिक्रिया