काठमाडौं — संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका सम्भावनायुक्त स्टार्टअप तथा औद्योगिक परियोजनासँग जोड्ने विषयमा काठमाडौंमा छलफल भएको छ। Startup Summit Nepal 2026 को प्रतिनिधिमण्डल र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अलशम्सीबीच काठमाडौंस्थित यूएई दूतावासमा यससम्बन्धी छलफल भएको हो।

Startup Summit Nepal 2026 की अध्यक्ष शोभा ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा राजदूत अलशम्सीले नेपालले उद्यम तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण तयार गर्न सके यूएईबाट थप लगानी आकर्षित गर्न सक्ने बताएका छन्।

उनले व्यावसायिक रूपमा सम्भाव्य व्यवसायिक अवधारणा, नवीन प्रविधि र लगानीका लागि तयार परियोजनाहरू व्यवस्थित रूपमा पहिचान गर्नुपर्नेमा जोड दिएका छन्। त्यस्ता परियोजना तयार गर्न सके नेपाललाई यूएईका लगानीकर्ताका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ छ।

राजदूत अलशम्सीले सूचना प्रविधि, प्राविधिक क्षेत्र तथा प्रविधिमा आधारित अन्य व्यवसायका लागि आवश्यक अभिमुखीकरण, सीप विकास र तालिमलाई प्राथमिकता दिनुपर्ने पनि बताएका छन्। दक्ष जनशक्ति विकास, युवालाई प्रविधिमा आधारित उद्यमशीलतातर्फ प्रोत्साहन र व्यावसायिक रूपमा सम्भाव्य परियोजना निर्माणले लगानीका अवसर विस्तार गर्न सक्ने उनले उल्लेख गरेका छन्।

नेपाल र यूएईबीच श्रम, व्यापार, लगानी तथा आर्थिक सहकार्यमा लामो समयदेखि सम्बन्ध रहँदै आएको छ। पछिल्लो पहलले द्विपक्षीय सम्बन्धलाई स्टार्टअप, प्रविधि र नयाँ लगानीका क्षेत्रमा समेत विस्तार गर्ने सम्भावना देखाएको छ।

Startup Summit Nepal 2026 ले काठमाडौंमा मात्र केन्द्रित नभई सातै प्रदेश र विश्वविद्यालयसम्म उद्यमशीलतासम्बन्धी कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ। अभियान त्रिभुवन विश्वविद्यालयबाट सुरु भइसकेको आयोजक पक्षले जनाएको छ।

कार्यक्रममार्फत विद्यार्थी, युवा तथा सम्भावित उद्यमीलाई स्टार्टअप स्थापना, व्यावसायिक योजना निर्माण, लगानीका स्रोत, बजार व्यवस्थापन, प्रविधिको प्रयोग र व्यवसाय सञ्चालनसम्बन्धी व्यावहारिक जानकारी उपलब्ध गराउने लक्ष्य राखिएको छ।

ज्ञवालीका अनुसार अभियानको उद्देश्य सम्मेलन आयोजना गर्नुमा मात्र सीमित छैन। सम्भावनायुक्त व्यवसायिक अवधारणालाई परियोजनामा रूपान्तरण गर्ने, लगानीका लागि तयार बनाउने र अन्ततः नेपाल तथा विदेशका लगानीकर्तासँग जोड्ने योजना रहेको छ।

नेपालका नयाँ व्यवसायहरूले पुँजी, प्रविधि, बजार, सीप तथा मार्गदर्शनमा पहुँचको अभाव सामना गरिरहेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र, विश्वविद्यालय, वित्तीय संस्था र अन्तर्राष्ट्रिय लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको बताएकी छन्।

Startup Summit Nepal 2026 ले प्रदेश तथा विश्वविद्यालय तहबाट सुरु हुने अभियानलाई क्रमशः राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी मञ्चका रूपमा विकास गर्दै नेपाली स्टार्टअपलाई पुँजी, प्रविधि, विशेषज्ञता र बजारसँग जोड्ने लक्ष्य राखेको छ।