काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो चरणका विजेता शुक्रबार घोषणा गर्ने भएको छ। विभागले उपहार छनोट प्रणालीको प्राविधिक तयारी पूरा गरेको जनाएको छ।
विभागका अनुसार साउन १ देखि १५ गतेसम्म वस्तु वा सेवा खरिद गरेका उपभोक्तामध्ये प्रत्येक दिनको कारोबारबाट एक–एक जना गरी १५ जनालाई एक लाख रुपैयाँका दरले पुरस्कार दिइनेछ। सोही अवधिका सबै योग्य कारोबारबाट छनोट हुने एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेछन्। पुरस्कारमा लाग्ने कर कार्यविधिअनुसार कट्टी हुनेछ।
बैंक तथा डिजिटल वालेटको क्यूआर प्रयोग गरेर भुक्तानी गर्ने उपभोक्ता कार्यक्रममा स्वतः सहभागी हुने व्यवस्था छ। तर पुरस्कार दाबी गर्दा खरिदको बिल सुरक्षित राख्नुपर्नेछ।
नगदमा सामान वा सेवा खरिद गर्ने उपभोक्ताले प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गर्नुपर्नेछ। बिल दर्तापछि प्राप्त हुने कुपनमार्फत उनीहरू उपहार छनोटमा सहभागी हुनेछन्।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बिल लिने बानी विकास गर्ने, डिजिटल कारोबार प्रोत्साहन गर्ने र कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम घोषणा गरेको थियो। कार्यविधिअनुसार अब प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन उपहार छनोट गरिनेछ।