काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको झडप तथा प्रहरीको गोली प्रहारसम्बन्धी घटना छानबिन गर्न गठित समितिको म्याद थप १५ दिन लम्ब्याइएको छ।
गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले निर्धारित समयमा अनुसन्धान पूरा गर्न नसकेपछि बिहीबार म्याद थप गरेको हो। यसअघि साउन ११ गते समिति गठन गर्दै एक साताभित्र प्रतिवेदन बुझाउने समय दिइएको थियो।
समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायका अधिकारी सहभागी छन्। घटनाको प्राविधिक पक्ष अध्ययन गर्न फरेन्सिक तथा ब्यालेस्टिक विज्ञसमेत अनुसन्धानमा संलग्न गराइएको छ।
समितिले घटनास्थल निरीक्षण गर्नुका साथै प्रत्यक्षदर्शी, स्थानीय समुदाय, सुरक्षाकर्मी र सरोकारवाला पक्षसँग जानकारी लिइरहेको छ। बिहीबार पनि एसएसपी प्रभु ढकाल नेतृत्वको टोली स्थलगत अध्ययनका लागि पुगेको जनाइएको छ।
साउन १० गते देवानगञ्जमा ठूलो आवाजमा डिजे बजाइएको र चोकमा राखिएको धार्मिक झन्डा हटाइएको विषयलाई लिएर दुई समूहबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। त्यसपछि मधेशका अन्य स्थानमा फैलिएको प्रदर्शन र झडपमा थप एक जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको छ।
समितिलाई घटनाको वास्तविक कारण, सुरक्षा व्यवस्थापन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।