जाजरकोट — भूकम्पबाट प्रभावित जाजरकोटका बासिन्दामाथि अहिले पहिरोको अर्को विपद् थपिएको छ। भूकम्पपछि निर्माण गरिएका अस्थायी घर तथा टहरासमेत पहिरोले क्षति पुर्‍याउन थालेपछि प्रभावित परिवार थप समस्यामा परेका छन्।
भेरी नगरपालिका–२ अन्तर्गत रिसाङ र स्यालामा पछिल्लो समय पहिरोको जोखिम बढेको छ। उपलब्ध विवरणअनुसार पहिरोका कारण १६८ घरधुरीका ९३ जना प्रभावित भएका छन्।
भूकम्पपछि बनाइएका १३ वटा अस्थायी घर पूर्ण रूपमा नष्ट भएका छन्। विपद्का कारण चार जनाको मृत्यु भएको र २२ जना घाइते भएको विवरणसमेत सार्वजनिक भएको छ।
पहिरोबाट विस्थापित परिवारमध्ये बालबालिका, गर्भवती महिला तथा सुत्केरीसमेत अस्थायी शिविरमा बस्न बाध्य छन्। लगातारको वर्षा र पहिरोको जोखिमका कारण उनीहरूको दैनिकी थप कष्टकर बनेको छ।
जाजरकोटका धेरै भूकम्प प्रभावित बस्ती अहिले पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। भूकम्पका कारण जमिन कमजोर बनेको र कतिपय स्थानमा अस्थायी आवास जोखिमयुक्त ठाउँमा निर्माण भएकाले वर्षायाममा पहिरोको जोखिम अझ बढेको बताइएको छ।
भूकम्प गएको लामो समय बितिसक्दा पनि धेरै परिवार स्थायी आवासको प्रतीक्षामा अस्थायी टहरामै बसिरहेका छन्। पुनर्निर्माणमा भएको ढिलाइका कारण उनीहरूले लगातार अर्को विपद्को जोखिमसमेत सामना गर्नुपरेको छ।
स्थानीयवासीले जोखिमयुक्त स्थानमा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न, राहत तथा आवासको व्यवस्था गर्न र दीर्घकालीन पुनर्वासको काम तीव्र बनाउन सरकारसँग माग गरेका छन्।