सिन्धुपाल्चोक — नेपाल–चीन सीमापारि चीनको न्यालम क्षेत्रमा बिहीबार बिहान गएको पहिरोको केही भाग भोटेकोशी नदीमा खसेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार बिहान करिब ६:३० बजेदेखि न्यालमको झिम्मु पोस्ट आसपासको भीरबाट ढुंगा र माटोसहितको पहिरो खस्न थालेको हो। प्रभावित क्षेत्र लिपिङ बजार जोड्ने बेली पुलपारिको चिनियाँ भूभागमा पर्छ।
पहिरोका कारण नदीको बहावमा केही प्रभाव परेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अवस्थाको निगरानी गरिरहेका छन्। थप पहिरो खसेर नदीको पानी थुनिएमा अचानक बहाव बढ्न सक्ने जोखिम रहेकाले ड्याम क्षेत्र, झोलुङ्गे, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे र बलेफी बजार आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नदीको आधा भाग थुनिएको भन्ने विवरण सही नभएको बताएका छन्। उनका अनुसार नदीमा थोरै मात्र पहिरोको सामग्री खसेको छ र भोटेकोशी अहिले सामान्य रूपमा बगिरहेको छ। प्रशासनले तत्काल आत्तिनुपर्ने अवस्था नरहे पनि नदी किनारमा अनावश्यक रूपमा नजान र आधिकारिक सूचनामा ध्यान दिन अनुरोध गरेको छ।
चीनको न्यालममा पहिरो, भोटेकोशी तटीय क्षेत्रमा उच्च सतर्कता
चीनतर्फ गएको पहिरोले भोटेकोशीको बहाव प्रभावित गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।









० प्रतिक्रिया