काठमाडौं। एनएमबि बैंकका ग्राहकले अब नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवाका लागि आवश्यक फाराम भर्न सक्ने भएका छन्। डिजिटल बैंकिङ सेवालाई सुरक्षित, सरल र छिटो बनाउने उद्देश्यले बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सहकार्य गरेको हो।
सहकार्यपछि ग्राहकले नागरिक एपमा उपलब्ध आफ्नो प्रमाणित विवरण प्रयोग गरी एनएमबि बैंकका विभिन्न अनलाइन बैंकिङ फाराम भर्न सक्नेछन्। यसबाट व्यक्तिगत विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने झन्झट घट्नुका साथै कागजी प्रक्रिया कम हुने अपेक्षा गरिएको छ।
नागरिक एपसँगको एकीकरणले ग्राहक पहिचानसम्बन्धी विवरणलाई अनुमति प्राप्त प्रक्रियाबाट प्रयोग गर्दै बैंकिङ सेवा आवेदनलाई सहज बनाउने बताइएको छ। यसले सेवाग्राहीको समय बचत गर्नुका साथै बैंकको डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनएमबि बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, स्टेटमेन्ट प्राप्त गर्ने र विभिन्न भुक्तानी गर्नेलगायत सेवा उपलब्ध गराउँदै आएको छ। नागरिक एपमार्फत फाराम भर्न सकिने नयाँ व्यवस्थाले बैंकको विद्युतीय सेवा प्रयोग गर्ने ग्राहकलाई थप सुविधा पुग्ने देखिएको छ।

