काठमाडौं — राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक नगरे पुराना बैंक खाता चल्न छाड्ने, कारोबार रोकिने वा खाता नै ब्लक हुने भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलिएको दाबी भ्रामक पाइएको छ।
नेपाल तथ्यजाँचले नेपाल राष्ट्र बैंकको आधिकारिक निर्देशन र सम्बन्धित अधिकारीको स्पष्टीकरणका आधारमा गरेको जाँचमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक नगरेकै कारण बैंक खाता तत्काल बन्द, फ्रिज वा ब्लक गर्ने व्यवस्था नरहेको जनाएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्ना खातावालाको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण भए वा नभएको स्वघोषणा २०८३ असोज मसान्तसम्म लिन निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र लिइसकेका ग्राहकको विवरण मोबाइल एप वा अन्य माध्यमबाट संकलन गरी ग्राहक पहिचान विवरणमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय परिचयपत्र लिन बाँकी रहेका नागरिकलाई भने परिचयपत्र लिएर ग्राहक पहिचान विवरण अद्यावधिक गर्न निश्चित समयभित्र जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ। तर तोकिएको समयभित्र विवरण नबुझाएकै आधारमा पुराना खाता चल्न नदिने वा रकम जम्मा तथा निकासा रोक्ने व्यवस्था निर्देशनमा उल्लेख नभएको तथ्यजाँचमा जनाइएको छ।
विदेशमा रहेका नेपाली, १६ वर्षभन्दा कम उमेरका बालबालिका तथा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त वा असहाय नागरिकका लागि पनि छुट्टै व्यवस्था गरिएको छ। यस्ता व्यक्तिले राष्ट्रिय परिचयपत्रबाहेकका आवश्यक परिचय खुल्ने कागजातका आधारमा खाता खोल्न तथा कारोबार गर्न सक्ने व्यवस्था रहेको उल्लेख छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण प्रणालीमा एकीकृत गर्न असोज मसान्तसम्मको समय दिइएको भए पनि सो अवधिभित्र विवरण अद्यावधिक नगर्ने व्यक्तिको बैंक खाता स्वतः ब्लक हुने दाबी सत्य नभएको स्पष्ट पारेका छन्।
यसअघि केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालका भिडियोमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक नगरे पुरानो बैंक खाताबाट पैसा निकाल्न वा जम्मा गर्न नमिल्ने दाबी गरिएको थियो। यस्ता सामग्री व्यापक रूपमा प्रसारित भएपछि खातावालामा अन्योल उत्पन्न भएको थियो।
राष्ट्र बैंकको निर्देशनको उद्देश्य ग्राहक पहिचानसम्बन्धी विवरण व्यवस्थित र अद्यावधिक गर्नु हो। त्यसैले बैंकले मागेको अवस्थामा खातावालाले आफ्नो राष्ट्रिय परिचयपत्र वा आवश्यक स्वघोषणासम्बन्धी विवरण उपलब्ध गराउनु उचित हुन्छ। तर विवरण अद्यावधिक नभएकै कारण खाता तत्काल बन्द वा ब्लक हुने भन्ने प्रचारमा विश्वास नगर्न तथ्यजाँचले आग्रह गरेको छ।

