ललितपुरको महाँकाल गाउँपालिकामा SOS बालग्राम सानोठिमी, भक्तपुरका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा.आ. ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो। दुर्घटनाग्रस्त सवारी SOS बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारी सवार रहेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारी को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कार्पियोमा चालकसहित ६ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित बी एन्ड बी अस्पताल मा उपचार भइरहेको छ भने एक जनाको महाँकाल गाउँपालिका–२ स्थित मानिखेल स्वास्थ्य चौकी मा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको छ।
बी एन्ड बी अस्पतालमा उपचाररत घाइतेहरू:
काठमाडौं, कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतीवडा
नवलपरासीको गैंडाकोट घर भई हाल काठमाडौं बस्ने ३५ वर्षीय भरत पौडेल
बर्दिया घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीया डिना सोनाहा
नुवाकोट घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय देवेन्द्रराज पाण्डे
मानिखेल स्वास्थ्य चौकीमा उपचाररत:
काठमाडौं, कीर्तिपुर नगरपालिका–५ निवासी ३९ वर्षीय निशान महर्जन
प्रहरीका अनुसार दुर्घटनाग्रस्त स्कार्पियो घटनास्थलमै रहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


0 प्रतिक्रिया