त्रिपुरेश्वर बस आगलागीमा चालकको मृत्यु, मृतकको पहिचानबारे थप अनुसन्धान जारी
काठमाडौं — काठमाडौंको त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीका क्रममा चालक बसभित्रै रहेका थिए। उनको शरीरको ठूलो भाग जलेपछि तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
अस्पताल स्रोतका अनुसार मृतकको नाम अर्जुनदावा लामा, उमेर २५ वर्ष रहेको उल्लेख गरिएको छ। यद्यपि घटनापछि प्रहरीले सुरुमा चालकको साथबाट भेटिएको लाइसेन्सका आधारमा उनलाई दावा लामा भनेर पहिचान गरेको थियो। पछि उक्त लाइसेन्समा रहेको सम्पर्क नम्बरका व्यक्तिले आफू जीवितै रहेको बताएपछि मृतकको पहिचानबारे केही अन्योल उत्पन्न भएको थियो।
घटना हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार त्यसपछि बसभित्र आगलागी भएको थियो। आगलागीको वास्तविक कारण र घटनाअघि भएको सम्पूर्ण घटनाक्रमबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
घटनाको छानबिन गर्न सम्बन्धित निकायले अनुसन्धान समिति समेत गठन गरेको छ। समितिले घटनास्थलमा उपलब्ध प्रमाण, सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीको बयानका आधारमा घटनाको वास्तविक कारण पत्ता लगाउने जनाएको छ।
मृतक चालकको पहिचानसम्बन्धी विषयमा आधिकारिक रूपमा थप विवरण सार्वजनिक भएपछि समाचारमा आवश्यक संशोधन गरिनेछ।
घटनामा ज्यान गुमाएका चालकप्रति श्रद्धाञ्जली।