काठमाडौं — महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक यातायात सुनिश्चित गर्ने उद्देश्यले सरकारले अघि सारेको निःशुल्क ‘ब्लु बस’ सेवा अझै सञ्चालनमा आउन सकेको छैन।

सरकारले गत चैतमा सार्वजनिक गरेको १०० दिने सुशासन सुधार कार्ययोजनामा सातै प्रदेशमा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने योजना समावेश गरेको थियो। पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्यसमेत राखिएको थियो।

योजनाअनुसार सेवा सञ्चालन हुन सकेको भए साउन १ गतेसम्म पहिलो चरणका बसहरू सञ्चालनमा आइसक्नुपर्ने थियो। तर आवश्यक उच्चस्तरीय स्वीकृति तथा प्रक्रियागत तयारी पूरा हुन नसक्दा सेवा अझै सुरु हुन सकेको छैन।

सरकारले काठमाडौं उपत्यकामा साझा यातायातसँग सहकार्य गरी प्रारम्भिक चरणमा कम्तीमा सातवटा बस सञ्चालन गर्ने तयारी गरेको थियो। प्रस्तावित योजनामा महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिइएको छ।

सरकारको यो योजना कार्यान्वयनमा आएमा सार्वजनिक यातायातमा महिलाको यात्रा सहज हुनुका साथै सुरक्षित आवागमनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। अहिले भने योजना घोषणा भएको महिनौँ बितिसक्दा पनि सेवा सुरु हुन नसकेकाले यसको कार्यान्वयन कहिले हुन्छ भन्ने चासो बढेको छ।

सरकारले आवश्यक प्रक्रिया पूरा गरी योजना छिट्टै कार्यान्वयनमा ल्याउन सकेमा यो महिलाको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण जनमुखी कार्यक्रम बन्न सक्ने देखिन्छ।