काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशीदेखि कर्णालीसम्मका विभिन्न सडकखण्डमा सवारी आवागमन अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेको छ।
काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइएको छ।
इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा सडक हिलाम्मे भएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरीले सो क्षेत्रमा वैकल्पिक सडक रहेको जनाएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिएपछि आवागमन प्रभावित भएको छ।
रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा पासाङल्हामु सडकखण्डमा समेत बाढी र पहिरोका कारण यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। रुकुम पश्चिमको जाजरकोट–डोल्पा सडकखण्ड र लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
गण्डकी प्रदेशका बागलुङको कालीगण्डकी करिडोर र मुस्ताङको बेनी–जोमसोम सडकखण्डमा भने केही स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
वर्षा अझै जारी रहेकाले पहाडी तथा जोखिमयुक्त सडकमा थप बाढी, पहिरो र सडक कटानको सम्भावना रहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्बन्धित क्षेत्रका सुरक्षाकर्मी र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।
वर्षा र पहिरोले देशभर यातायात प्रभावित, विभिन्न राजमार्गमा आवागमन रोकियो
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको…







० प्रतिक्रिया