काठमाडौं — ‘जनआस्था’ साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासीको विरोधमा नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएका छन्।
महासंघकी अध्यक्ष निर्मला शर्माको अगुवाइमा भएको प्रदर्शनका क्रममा धर्नामा बस्न खोजेका पत्रकारलाई प्रहरीले रोकेपछि केहीबेर घम्साघम्सी र धकेलाधकेल भएको थियो। प्रदर्शनकारीले कालोपट्टी बाँध्नुका साथै लालटिन र प्रेस स्वतन्त्रतासम्बन्धी प्लेकार्ड बोकेका थिए।
प्रहरीले श्रेष्ठलाई बुधबार ललितपुरबाट पक्राउ गरेको थियो। उनीमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहीबार बिहान प्रहरी टोलीले ‘जनआस्था’को कार्यालयमा खानतलासीसमेत गरेको थियो।
पत्रकार महासंघले पक्राउ र खानतलासीलाई संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भनेको छ। महासंघले श्रेष्ठको विनासर्त रिहाइ माग गर्दै माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ।
प्रहरीले भने उजुरी र प्रचलित कानुनअनुसार अनुसन्धान अघि बढाएको बताएको छ। श्रेष्ठमाथिको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन।
किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकारको धर्ना, प्रहरीसँग घम्साघम्सी
किशोर श्रेष्ठको रिहाइ माग्दै काठमाडौं प्रहरी परिसर अगाडि धर्नामा बसेका पत्रकार र प्रहरीबीच घम्साघम्सी भएको छ।









० प्रतिक्रिया