काठमाडौं — सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन नयाँ संघीय संसद् भवन निर्माण सुरु भएको करिब सात वर्ष पुग्दा पनि सञ्चालनमा आउन सकेको छैन। भौतिक प्रगति करिब ९५ प्रतिशत पुगे पनि परियोजनाको अन्तिम चरणको काम सुस्त बनेको छ।
सन् २०१९ मा सुरु भएको भवन निर्माण अक्टोबर २०२२ भित्र पूरा गर्ने प्रारम्भिक लक्ष्य थियो। त्यसयता निर्माण अवधि छ पटक थपिइसकेको छ। निर्माण कम्पनी टुण्डी–एसईएसी जेभीले सातौँ पटक म्याद थपका लागि सहरी विकास तथा भवन निर्माण विभागमा आवेदन दिएको छ।
विशेष भवन निर्माण आयोजनाका निर्देशक रोशन श्रेष्ठका अनुसार आवेदन प्राप्त भए पनि बिमा तथा अन्य आवश्यक कागजात पूरा नभएकाले नयाँ म्याद स्वीकृत भइसकेको छैन। बाँकी काम तीव्र रूपमा भए डेढ महिनाभित्र सक्न सकिने भए पनि निर्माणको गति निकै सुस्त रहेको आयोजनाको भनाइ छ।
६ अर्ब ९२ करोड रुपैयाँको लागतमा ७९ हजार ३६० वर्गमिटरभन्दा बढी क्षेत्रमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, भीभीआईपी कक्ष, पुस्तकालय, संसदीय दलका कार्यालय, क्याफेटेरिया र सुरक्षा भवनसहित १२ वटा संरचना निर्माण हुँदैछन्।
भवनको आन्तरिक सजावट, फर्निचर, सूचना प्रविधि, ध्वनि प्रणाली तथा हार्डवेयर–सफ्टवेयर जडानका लागि छुट्टै २ अर्ब ३४ करोड रुपैयाँको ठेक्का लगाइएको छ। उक्त कामको प्रगति करिब ५५ प्रतिशत मात्र छ। मुख्य संरचनाको काम नसकिँदा आन्तरिक सजावट र प्रविधि जडानसमेत प्रभावित भएको आयोजनाले जनाएको छ।