धादिङ, साउन ११ — धादिङको गुजरी गाउँपालिका–६ बेल्खु क्षेत्रमा त्रिशूली नदीबाट भइरहेको अवैध बालुवा उत्खनन तथा ओसारपसार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय धादिङले निगरानी तथा नियन्त्रण अभियानलाई तीव्र बनाएको छ।
उपलब्ध विवरणअनुसार, राज्यलाई राजस्व नतिरी नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको विषय सार्वजनिक भएपछि प्रहरी टोलीले सम्बन्धित क्षेत्रमा अनुगमन बढाएको हो। घटनास्थलमा प्रहरी परिचालन गरी उत्खनन भइरहेका स्थानहरूको निरीक्षण तथा नियन्त्रणको प्रयास गरिएको जनाएको छ।
स्थानीय स्तरमा लामो समयदेखि ठूलो मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन भइरहेको तर प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै विभिन्न कोणबाट आलोचना हुँदै आएको थियो। विशेषगरी डोको–नाम्लो बोकेर बालुवा संकलन गर्ने मजदुरमाथि मात्र कारबाही हुने तर ठूलो उपकरण प्रयोग गरेर हुने उत्खननमा पर्याप्त कडाइ नदेखिएको गुनासो स्थानीयले गर्दै आएका थिए।
यस विषयमा प्रतिनिधिसभा सदस्य आशिका तामाङ ले पनि चासो व्यक्त गरेपछि सम्बन्धित निकाय थप सक्रिय बनेको उल्लेख गरिएको छ। त्यसपछि जिल्ला प्रहरी कार्यालय धादिङले बेल्खु क्षेत्रमा निगरानी बढाउँदै अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको जनाएको छ।
नदीजन्य स्रोतसाधनको कानुनी, पारदर्शी र दिगो व्यवस्थापनसँगै वातावरण संरक्षण तथा राज्यको राजस्व सुरक्षाका लागि अवैध उत्खनन रोक्न सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको स्थानीयको भनाइ छ। यद्यपि, यस अभियानका क्रममा कति सवारीसाधन वा उपकरण नियन्त्रणमा लिइयो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।




0 प्रतिक्रिया