काठमाडौं — चीनले नेपाललाई सीमापार जलजन्य विपद्को जोखिमसँग सम्बन्धित आपत्कालीन जलविज्ञान सूचना निरन्तर उपलब्ध गराउने जनाएको छ। यसमा नदी वा खोँचमा पहिरो तथा गेग्रान थुप्रिएर बन्ने ब्यारियर लेक, हिमतालको अवस्था, नयाँ अवरोधयुक्त ताल बन्ने सम्भावना र आपत्कालीन जलविज्ञान निगरानीसम्बन्धी सूचना समेटिनेछ।

चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपाललाई अहिले केरुङ (Gyirong) क्षेत्रमाथि बनेको ब्यारियर लेकको विकासक्रम, त्यससँग जोडिएका सम्भावित क्रमिक जोखिम, केरुङ जाङ्बो नदी बेसिनका हिमतालको अवस्था तथा नयाँ ब्यारियर लेक बन्ने सम्भावना र जोखिम पूर्वानुमानबारे दैनिक जानकारी उपलब्ध गराइँदै छ।

यो सूचना आदानप्रदान अगस्त २६ मा चीन–नेपाल सीमाक्षेत्रमा आएको विनाशकारी विपद्पछिको जोखिम व्यवस्थापनका लागि विशेष महत्त्वपूर्ण बनेको छ। उक्त घटनाले जलविज्ञान निगरानी पूर्वाधारसमेत क्षति पुर्‍याएको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्र अग्ला पहाड, गहिरा खोँच तथा धेरै हिमनदी र हिमताल भएको भूभाग भएकाले वास्तविक समयको निगरानी कठिन रहेको मन्त्रालयको भनाइ छ।

चिनियाँ आपत्कालीन जलविज्ञान टोलीले क्षतिग्रस्त निगरानी केन्द्र पुनःस्थापना गर्ने, पूर्वसूचना प्रणाली निर्माण गर्ने र जोखिमयुक्त क्षेत्रको निगरानी तीव्र बनाउने काम गरिरहेको जनाएको छ। भूगर्भीय अवस्था अझै अस्थिर रहेकाले थप पहिरो, ढुंगा खस्ने तथा अन्य दोस्रो चरणका विपद्को जोखिम कायम रहेको चेतावनीसमेत दिइएको छ।

file 0000000074888210a4f0c198e08ea452

मौसमसम्बन्धी सूचना पनि नेपालसँग आदानप्रदान भइरहेको छ। चीनको मौसम प्रशासनले विपद्पछि नेपालको जल तथा मौसम विज्ञान विभागसँग भिडियो परामर्श गरेको र मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा प्रभावमा आधारित सेवा उपलब्ध गराएको जनाएको छ।

यो सहकार्यको अर्को महत्त्वपूर्ण पक्ष सीमापार नदीका लागि स्थायी सूचना संयन्त्र निर्माण गर्ने योजना हो। चीनको जलस्रोत मन्त्रालयले नेपालसँग सीमापार नदीको जलविज्ञान सूचना आदानप्रदानसम्बन्धी सम्झौता अघि बढाउँदै नियमित सहकार्य संयन्त्र स्थापना गर्ने लक्ष्य रहेको जनाएको छ।

हालको विपद्ले माथिल्लो तटीय क्षेत्रमा हुने आकस्मिक परिवर्तनको सूचना नेपालका तल्लो तटीय बस्तीमा कति छिटो पुग्छ भन्ने प्रश्नलाई पनि गम्भीर बनाएको छ। Reuters का अनुसार विपद्अघि नेपालले हिमनदीको चाल र माथिल्लो क्षेत्रको पानीको सतहसम्बन्धी थप विस्तृत तथा वास्तविक समयको तथ्यांक चीनसँग माग्दै आएको थियो। विपद्पछि दुवै देशबीच यस्तो सहकार्य थप गहिरो बनाउने तयारी छ।

नेपालमा जल तथा मौसम विज्ञान विभागले नदीको वास्तविक समयको अवस्था, वर्षा निगरानी तथा बाढी पूर्वानुमानसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको छ। सीमापार क्षेत्रबाट प्राप्त हुने समयमैको तथ्यांकलाई नेपालको पूर्वसूचना प्रणालीसँग प्रभावकारी रूपमा जोड्न सकिए जोखिमयुक्त तल्लो तटीय क्षेत्रमा चेतावनी र निकासीका लागि उपलब्ध समय बढाउन सहयोग पुग्न सक्छ।