कैलाली । कैलालीको चुरे गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार २१६ वटा योजना पूर्ण रूपमा सम्पन्न भएका छन्। यस अवधिमा ७.१९ किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको तथा ३२० किलोमिटर सडक सरसफाइ र स्तरोन्नति गरिएको जनाइएको छ।
शिक्षातर्फ विद्यालय भवन निर्माण तथा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ भने स्वास्थ्य क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविरमार्फत १ हजार ४५३ जनाले सेवा लिएका छन्।
कृषि तथा पशु सेवातर्फ किसानलाई मिनिटिलर, प्लास्टिक टनेललगायतका सामग्री सहयोग गरिएको छ। गाउँपालिकाले आगामी वर्ष विकासका कामलाई अझ प्रभावकारी र जनमुखी बनाउने जनाएको छ।
स्थानीय तहमा विकासका कामले गति लिन थालेसँगै नागरिकमा समेत सकारात्मक आशा बढेको छ।