काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म सरकारले खोज तथा उद्धारसँगै उपचार, राहत वितरण, सेवा पुनःस्थापना र प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनको संख्या विवरण अद्यावधिकसँगै घटबढ हुन सक्ने जनाइएको छ।

प्रधानमन्त्री शाहले विपद्को अग्रपंक्तिमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवी संस्था तथा नागरिकलाई धन्यवाद दिएका छन्। संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारले गरेको समन्वय तथा मित्रराष्ट्र र विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त सहयोगप्रति पनि उनले आभार व्यक्त गरेका छन्।

सरकारका अनुसार रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका चार संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वितरण केन्द्रबाट ३ हजार ६९६ प्रभावित नागरिकसम्म राहत पुर्‍याइएको छ। राहत तथा मानवीय सहयोगमा भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मुलुकले सहयोग गरेको सरकारी विवरणमा उल्लेख छ।

राहत कोषमा अर्बौं रकम संकलन

प्रधानमन्त्री शाहका अनुसार सोमबार मध्याह्नसम्म प्रधानमन्त्री राहत कोषअन्तर्गत नौ वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकका खातामा थप ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर संकलन भएको छ। सोमबारको विनिमय दरअनुसार दुवै मुद्रामा प्राप्त रकमको कुल मूल्य ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी हुने देखिन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोग रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरिरहेको पनि जनाइएको छ।

सडक र पुल पुनःस्थापनाको प्रयास

बाढीबाट प्रभावित नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको सरकारले जनाएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत वैकल्पिक सडक सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा राहत सामग्री र अत्यावश्यक वस्तु ढुवानी सहज हुने अपेक्षा गरिएको छ।

रसुवा, नुवाकोट र धादिङका विभिन्न पुलमा क्षति पुगेपछि सरकारले अस्थायी बेलिब्रिज जडानलाई प्राथमिकतामा राखेको छ। भारतबाट २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको र थप सात बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता आएको सरकारी विवरण छ। चीनबाट पनि ३० वटा बेलिब्रिज प्राप्त हुने जनाइएको छ।

२७९ घाइतेमध्ये १६८ डिस्चार्ज

उद्धार गरिएका घाइतेमध्ये विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ जनामध्ये १६८ जना उपचारपछि डिस्चार्ज भएका छन्। सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी राखेका छन्।

बाढी प्रभावित जलविद्युत् आयोजनाहरूमा समेत उद्धार टोली परिचालन गरिएको छ। नेपाली सेनाले विभिन्न जलविद्युत् परियोजनाबाट २७९ जनाको उद्धार गरेको सरकारी विवरण छ। रसुवागढी, लाङटाङ खोला, चिलिमे, मैलुङ खोला, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ए तथा ३ बी लगायत आयोजनाका क्षेत्रमा स्वदेशी तथा विदेशी उद्धार टोलीसमेत परिचालित छन्।

९३९ शव फेला

सरकारका अनुसार हालसम्म ९३९ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तलाई जिम्मा लगाउने र पहिचान हुन नसकेका शवको डीएनएलगायत पहिचानमा सहयोग पुग्ने विवरण सुरक्षित राखी कानुनी तथा वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन भइरहेको जनाइएको छ।

विद्युत् र सञ्चार सेवा क्रमशः सामान्य हुँदै

बाढीका कारण अवरुद्ध विद्युत् सेवा पनि क्रमशः पुनःस्थापना भइरहेको छ। सरकारी विवरणअनुसार रसुवाका करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगेको छ भने बाँकी क्षेत्रमा तत्कालका लागि प्रयोग गर्न ५०० थान पोर्टेबल सोलार पठाइएको छ।

नुवाकोटमा करिब ८५ प्रतिशत र धादिङमा करिब ९८ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भएको जनाइएको छ। सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा बीटीएस टावर सञ्चालनमा आएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

अब पुनःस्थापनामा जोड

सरकारले खोज, उद्धार र तत्काल राहतसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि क्षतिको विवरण संकलन सुरु गरेको जनाएको छ। स्थानीय सरकारसँग समन्वय गरी प्रभावित परिवार, घर तथा अन्य भौतिक क्षतिको तथ्यांक संकलनपछि पुनःस्थापनाको योजना अघि बढाइने बताइएको छ।

प्रधानमन्त्री शाहले भोटेकोशीको विपद्लाई हिमालय क्षेत्रमा बढिरहेको जलवायु जोखिमसँग जोड्दै भविष्यमा यस्ता घटनाको जोखिम न्यूनीकरणका लागि आन्तरिक तयारीसँगै जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असर अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्ने बताएका छन्।