नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा र भुक्तानी अवधिबारे वित्तीय चेतनासम्बन्धी सन्देश सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा तलब, पेन्सन वा व्यावसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिले विद्युतीय माध्यमबाट अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था छ। यस्तो कर्जाको भुक्तानी अवधि बढीमा ३ वर्ष हुने उल्लेख गरिएको छ।
यस्तै, अन्य व्यक्तिगत ग्राहकका लागि विद्युतीय कर्जाको अधिकतम सीमा २ लाख रुपैयाँ तोकिएको छ। यसको भुक्तानी अवधि पनि बढीमा ३ वर्ष रहने व्यवस्था छ।
लघु, साना तथा मझौला व्यवसायीका लागि भने कर्जाको प्रकृति अनुसार सीमा फरक राखिएको छ। अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जाका लागि अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा लिन सकिने र भुक्तानी अवधि १ वर्षसम्म हुने व्यवस्था छ।
दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाका लागि लघु, साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था रहेको छ। यस्तो कर्जाको भुक्तानी अवधि भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जा नीतिअनुसार निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले कर्जा लिनुअघि आफ्नो भुक्तानी क्षमता, ब्याज तथा सेवा शुल्क, कर्जाको अवधि र भुक्तानी तालिका राम्रोसँग बुझेर मात्र कर्जा लिन आग्रह गरेको छ। विद्युतीय कर्जाको प्रयोग सरल र सुरक्षित वित्तीय कारोबारका लागि हुनुपर्ने सन्देशमा जोड दिइएको छ।









० प्रतिक्रिया