काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको त्रास नहट्दै नेपाल–चीन सीमा क्षेत्रमा फेरि अर्को सम्भावित बाढीको जोखिम देखिएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा हिमपहिरोका कारण ठूलो प्राकृतिक ‘ब्यारियर लेक’ बनेको छ।
चिनियाँ अधिकारीका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। तालबाट पानी बाहिरिनसमेत सुरु भएको बताइएको छ।
चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीलाई उद्धृत गर्दै सार्वजनिक विवरणअनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने अनुमान गरिएको छ। पानीको मात्रा थप बढेमा प्राकृतिक बाँध कमजोर भई ताल फुट्न सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने जोखिम रहेको छ।
कहाँ बनेको छ ताल?
चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा रहेको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको दोभाननजिकै हिमपहिरोका कारण पानी थुनिएर ताल बनेको हो। यी जलस्रोतहरू सीमापार हुँदै नेपालतर्फ आएपछि भोटेकोशी नदी प्रणालीसँग जोडिन्छन्।
चिनियाँ अधिकारीहरूले तालको अवस्था निरन्तर निगरानी गरिरहेका छन्। सम्भावित ताल फुट्ने अवस्थाको प्रभावबारे बाढीको मोडलिङ तथा जोखिम विश्लेषण समेत भइरहेको जनाइएको छ। सम्भावित आपत्कालीन अवस्था आएमा उद्धार तथा राहतका लागि तयारीसमेत भइरहेको छ।
यसअघि नै आएको थियो विनाशकारी बाढी
यसअघि अगस्ट २६ मा हिमपहिरो तथा बरफ–चट्टानको ठूलो प्रवाहपछि भोटेकोशी क्षेत्रमा अचानक भीषण बाढी आएको थियो। प्रारम्भिक अध्ययनअनुसार हिमपहिरोका कारण नदी केही समय थुनिएर बनेको अस्थायी जलाशय फुटेपछि ठूलो मात्रामा पानी र गेग्रान तल्लोतर्फ बगेको हुन सक्ने देखिएको छ।
बाढीले नेपाल र चीन दुवैतर्फ जनधन तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। उद्धार तथा खोजी कार्य जारी रहेका बेला नयाँ तालको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ।
जोखिमप्रति उच्च सतर्कता आवश्यक
तालमा पानीको मात्रा निरन्तर बढ्दै गएमा सम्भावित जोखिम थप गम्भीर बन्न सक्ने भएकाले चीनतर्फबाट यसको निगरानी तीव्र पारिएको छ। नेपालतर्फ पनि सम्बन्धित निकायले नदीको अवस्था, सम्भावित पानीको बहाव र तल्लो तटीय क्षेत्रमा पर्ने प्रभावबारे उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।