काठमाडौं, १० भदौ। चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुंगा र भीमढुंगा नाका हुँदै ती जिल्लातर्फ बाहिरिन लागेका सवारीसाधनलाई काठमाडौंमै होल्ड गरेको हो। बाढीका कारण नदी आसपासका सडक तथा अन्य क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै यो कदम चालिएको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार जोखिम कायम रहेकाले सम्बन्धित जिल्लातर्फ जाने सवारीसाधनलाई तत्काल यात्रा नगर्न आग्रह गरिएको छ। सार्वजनिक यातायात व्यवसायीलाई पनि नागढुंगा र भीमढुंगा नाका हुँदै धादिङ, रसुवा र चितवनतर्फ सवारी नपठाउन अनुरोध गरिएको छ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारीसँगै चारपाङ्ग्रे निजी तथा दुईपाङ्ग्रे सवारीसाधनलाई पनि बाहिरिनबाट रोकेको जनाएको छ। अर्को सूचना वा सडक सुरक्षासम्बन्धी जानकारी नआएसम्म सम्बन्धित क्षेत्रको यात्रा नगर्न यात्रु तथा चालकलाई आग्रह गरिएको छ।

बुधबार बिहान करिब ९ः१५ बजे तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको थियो। बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ अघि बढेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।

नदी किनारमा नजान, माछा मार्ने वा अन्य काम नगर्न तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। सडक र नदीको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षा निकायले जारी गर्ने सूचनालाई पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।