कञ्चनपुर । अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका चार जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले जिल्ला अदालत कञ्चनपुरका विभिन्न फैसलाबाट सजाय तोकिएका चार जनालाई पक्राउ गरेको हो। उनीहरूलाई साउन २९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वन्यजन्तु तथा अवैध शिकार मुद्दामा जनही २१ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका लालझाडी गाउँपालिका–५ का श्यामकुमार राना, जङ्गबहादुर राना र रामसाहेब राना रहेका छन्।
त्यस्तै, चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएका भीमदत्त नगरपालिका–१ का पंकज मिस्त्री पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
कञ्चनपुर प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।