ह्वाट्सएपले प्रयोगकर्तालाई आफ्नो मोबाइल नम्बर नदेखाई नयाँ व्यक्ति तथा व्यवसायसँग सम्पर्क गर्न सक्ने ‘युजरनेम’ सुविधा क्रमशः विस्तार गरिरहेको छ। यो सुविधाले ह्वाट्सएपमा नयाँ सम्पर्क स्थापित गर्दा मोबाइल नम्बर नै दिनुपर्ने पुरानो निर्भरता कम गर्ने अपेक्षा गरिएको छ।
ह्वाट्सएपसम्बन्धी अपडेट ट्र्याक गर्ने WABetaInfo का अनुसार एन्ड्रोइड र आईओएसमा प्रयोगकर्ताले आफ्नो रोजाइको युजरनेम रिजर्भ गर्न सक्ने सुविधा चरणबद्ध रूपमा उपलब्ध भइरहेको छ। केही सीमित प्रयोगकर्ताका लागि रिजर्भ गरिएको युजरनेम सक्रिय भई त्यसैमार्फत नयाँ व्यक्ति तथा व्यवसायसँग कुराकानी गर्न सक्ने सुविधा समेत सुरु भएको छ।
यद्यपि यो सुविधा सबै प्रयोगकर्ताका लागि एकैपटक विश्वव्यापी रूपमा उपलब्ध भइसकेको छैन। हाल यसको विस्तार क्रमशः भइरहेको छ र प्रयोगकर्ताअनुसार उपलब्धता फरक हुन सक्छ।
युजरनेम रिजर्भ गर्ने विकल्प उपलब्ध भएको अवस्थामा प्रयोगकर्ताले ह्वाट्सएपको Settings > Account > Username मा गएर आफूलाई मनपर्ने नाम छनोट गर्न सक्छन्। रोजिएको युजरनेम पहिले नै अरूले लिएको भए अर्को नाम रोज्नुपर्ने हुन्छ।
यस सुविधाको मुख्य उद्देश्य गोपनीयता बढाउनु हो। विशेषगरी अपरिचित व्यक्ति, ग्राहक वा व्यवसायसँग पहिलोपटक सम्पर्क गर्दा व्यक्तिगत मोबाइल नम्बर सार्वजनिक नगरी युजरनेम प्रयोग गर्न सकिनेछ। यद्यपि युजरनेमले फोन नम्बरलाई पूर्ण रूपमा विस्थापित गर्दैन। ह्वाट्सएप खाता दर्ताका लागि अझै फोन नम्बर आवश्यक रहने र नम्बर थाहा भएका व्यक्तिले त्यसैमार्फत पनि सम्पर्क गर्न सक्ने रिपोर्टमा उल्लेख छ।
ह्वाट्सएपले युजरनेममार्फत सम्पर्कमा थप नियन्त्रण दिन ‘Username Key’ को व्यवस्था पनि ल्याउँदैछ। प्रयोगकर्ताले यो वैकल्पिक सुरक्षा सुविधा सक्रिय गरेको अवस्थामा पहिलोपटक युजरनेमबाट सम्पर्क गर्ने व्यक्तिलाई उक्त कीसमेत आवश्यक पर्न सक्छ।
त्यस्तै, युजरनेमबाट कसैलाई खोज्दा सामाजिक सञ्जालमा जस्तो आंशिक नाम टाइप गरेर धेरै प्रोफाइलको सूची हेर्ने व्यवस्था नरहेको बताइएको छ। नयाँ व्यक्तिलाई सम्पर्क गर्न उसको सही युजरनेम थाहा हुनुपर्छ।
व्यवसायका लागि पनि यो सुविधा महत्वपूर्ण बन्न सक्छ। ह्वाट्सएपले Cloud API प्रयोग गर्ने व्यावसायिक साझेदारलाई WhatsApp Manager, Meta Business Suite वा Username API मार्फत युजरनेम रिजर्भ गर्ने व्यवस्था विस्तार गरेको रिपोर्ट छ।
हाल आफ्नो ह्वाट्सएपमा Username विकल्प नदेखिएका प्रयोगकर्ताले भने केही समय प्रतीक्षा गर्नुपर्ने हुन सक्छ। सुविधा चरणबद्ध रूपमा विस्तार भइरहेकाले सबै खातामा एकै समयमा उपलब्ध नहुन सक्छ।









० प्रतिक्रिया