काठमाडौं। स्मार्ट टेलिकमको सम्पत्ति लिलामीमा भएको भनिएको अनियमिततामाथि अनुसन्धान गरिरहेको प्रहरीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई थप ६ दिन हिरासतमा राख्ने अनुमति पाएको छ।
काठमाडौं जिल्ला अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई भण्डारीमाथि अनुसन्धान जारी राख्न म्याद थप गरेको हो। उनलाई यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। उक्त अवधि सकिएपछि पुनः अदालतमा उपस्थित गराइएकोमा थप ६ दिनको अनुमति प्रदान गरिएको सीआईबीले जनाएको छ।
भण्डारी स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा गत शुक्रबार पक्राउ परेका थिए।
स्मार्ट टेलिकमले निर्धारित समयमा अनुमतिपत्र नवीकरण नगरेपछि कम्पनीको दूरसञ्चार अनुमतिपत्र २०८० वैशाख ३ गतेदेखि स्वतः रद्द भएको थियो। त्यसपछि कम्पनीको दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली, सञ्जाल तथा अन्य सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको थियो।
सीआईबीले प्राधिकरणको नियन्त्रणमा आएको सम्पत्ति लिलामी गर्ने क्रममा कानुनविपरीत काम भएको आशंकामा अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र तत्कालीन एनसेल आजियाटासँग सम्बन्धित कारोबारसमेत अनुसन्धानको दायरामा रहेको जनाइएको छ।
सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी राज्य तथा दूरसञ्चार प्राधिकरणको हकमा क्षति पुर्याइएको आशंकामा ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
यद्यपि, भण्डारीमाथि लागेको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन। अदालतले दिएको म्याद अनुसन्धान प्रयोजनका लागि मात्र हो। अनुसन्धान पूरा भएपछि प्राप्त प्रमाणका आधारमा अभियोजन गर्ने वा नगर्ने निर्णय गरिनेछ।









० प्रतिक्रिया