काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाट घटनामा संलग्न भई फरार रहेका एक आरोपीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा उनले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ।

गोली लागेर घाइते भएका तामाङलाई नियन्त्रणमा लिएपछि घटनास्थलबाट लुटपाटमा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घाइते तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाएको छ।