भारतको झारखण्ड राज्यस्थित कोडरमा जिल्लामा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ४:३० बजे सतगावाँ प्रहरी थाना क्षेत्रको पोखरडीहमा दुर्घटना भएको हो। तीर्थयात्री बोकेको बस सडकमा रोकिराखेको ट्रकको पछाडिको भागमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बसमा रौतहटका तीर्थयात्री सवार थिए। उनीहरू देवघरस्थित बाबा बैद्यनाथ धाममा पूजा तथा दुम्काको बासुकीनाथ धाम भ्रमण गरेर नेपाल फर्कँदै थिए।
दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले बसमा रहेका यात्रुको उद्धार गरेका थिए। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा कोडरमास्थित स्वास्थ्य संस्थामा लगिएको छ।
दुर्घटनामा घाइते भएकाहरूको संख्याबारे भने भारतीय सञ्चारमाध्यममा फरक विवरण आएका छन्। नेपाल न्युज तथा केही स्थानीय भारतीय सञ्चारमाध्यमले ५० भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। तर स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै पीटीआईले १० जना घाइते भएको र बसमा ४५ तीर्थयात्री सवार रहेको जनाएको छ। आधिकारिक विस्तृत विवरण आउन बाँकी छ।
प्रारम्भिक विवरणमा बस चालक निदाएका कारण बसले रोकिराखेको ट्रकलाई पछाडिबाट ठक्कर दिएको आशंका गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धानपछि मात्र पुष्टि हुने स्थानीय अधिकारीहरूले जनाएका छन्।
मृतक तीनै जना नेपाली नागरिक भएको पुष्टि भए पनि उनीहरूको पूर्ण पहिचान सार्वजनिक भइसकेको छैन। सम्बन्धित निकायले मृतकका परिवारसँग समन्वय तथा घाइतेहरूको अवस्थाबारे थप विवरण संकलन गरिरहेका छन्।









० प्रतिक्रिया