काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालले अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोग, जलवायु वित्त र प्रभावकारी कार्ययोजनाको माग गरेको छ।
टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (COP31) मा नेपालको तर्फबाट सहभागी परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षणका लागि विश्व समुदायले ठोस कदम चाल्नुपर्ने बताएका छन्।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तनमा नेपालको योगदान निकै न्यून भए पनि यसको असर भने नेपालजस्ता हिमाली तथा विकासशील देशहरूले अत्यधिक भोगिरहेको उल्लेख गरे। हिमालमा रहेका हिमनदीहरू तीव्र गतिमा पग्लिँदै जानु, प्राकृतिक विपद् बढ्नु र स्थानीय समुदायको जनजीवन प्रभावित हुनु गम्भीर चुनौती बनेको उनको भनाइ थियो।
उनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हिमाली क्षेत्रका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए। साथै, हिमाल र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना निर्माण गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरे।
नेपालले भुटान र किर्गिस्तानसँग मिलेर जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा हिमाली क्षेत्रका समस्यालाई प्राथमिकताका साथ समावेश गराउन पहलसमेत गरेको छ।
मन्त्री खनालले जलवायु परिवर्तनबाट प्रभावित देशहरूलाई अनुकूलनका कार्यक्रम सञ्चालन गर्न पर्याप्त, सहज र समयमै उपलब्ध हुने अन्तर्राष्ट्रिय जलवायु वित्त आवश्यक रहेको बताए। विशेषगरी प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनर्निर्माण, पूर्वाधार संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय जनताको जीविकोपार्जनमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको उनको भनाइ थियो।
नेपालले हालै भोगेका प्राकृतिक विपद्का घटनाहरू उल्लेख गर्दै उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावलाई सामान्य वातावरणीय समस्याका रूपमा मात्र हेर्न नहुने स्पष्ट पारे। यसले मानव जीवन, अर्थतन्त्र, जैविक विविधता र भविष्यका पुस्ताको सुरक्षासमेत प्रभावित पारिरहेको उनले बताए।
नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहानुभूतिलाई अब वास्तविक सहयोग र कार्यान्वयनमा बदल्नुपर्नेमा जोड दिएको छ। जलवायु परिवर्तनको जोखिम कम गर्न विकसित राष्ट्रहरूले आफ्नो जिम्मेवारी पूरा गर्दै प्रभावित मुलुकलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने नेपालको धारणा छ।
यसैबीच, नेपालले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।
जलवायु परिवर्तनको असर सीमाना नाघेर विश्वव्यापी रूपमा फैलिरहेको अवस्थामा नेपालको यो पहलले हिमाली क्षेत्रको समस्या अन्तर्राष्ट्रिय बहसमा थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ। अब सम्मेलनबाट गरिएका प्रतिबद्धता व्यवहारमा कति लागू हुन्छन् भन्ने विषय महत्त्वपूर्ण रहनेछ।









० प्रतिक्रिया