काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनापछि विकसित समसामयिक राजनीतिक अवस्था र त्यससँग सम्बन्धित विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपाका अनुसार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सभापति वा अध्यक्ष तथा संसदीय दलका नेतासहित दुई/दुई जना प्रतिनिधिलाई बैठकमा सहभागी हुन निमन्त्रणा गरिएको छ।

बैठक संघीय संसद् परिसरस्थित सार्वजनिक लेखा समिति हल, सिंहदरबारमा आयोजना गर्ने तयारी गरिएको छ। पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले सबै सम्बन्धित राजनीतिक दललाई औपचारिक निमन्त्रणा पठाइएको जानकारी दिएका छन्।

रास्वपाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे राजनीतिक दलहरूबीच साझा धारणा बनाउन, समसामयिक विषयमा छलफल गर्न तथा आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले बैठक बोलाइएको जनाएको छ।