एम्स्टर्डम। विश्वव्यापी भूराजनीतिक तनाव र सम्भावित गम्भीर संकटप्रतिको तयारी बलियो बनाउँदै नेदरल्यान्ड्सको केन्द्रीय बैंक ‘डे नेदरल्यान्ड्से बैंक’ (DNB) ले अमेरिका र क्यानडामा राखिएको करिब ८६ टन सुन लन्डनतर्फ स्थानान्तरण गरेको छ।

DNB ले सेप्टेम्बर २ मा सार्वजनिक गरेको आधिकारिक विवरणअनुसार सन् २०२६ को मार्चदेखि अगस्टसम्म अमेरिका र क्यानडामा रहेको करिब ३१३ टन सुनमध्ये करिब ८६ टन बराबरको हिस्सा लन्डनतर्फ सारिएको हो। बैंकले बढ्दो भूराजनीतिक अस्थिरताका बीच संकटको समयमा सुनलाई छिटो प्रयोग वा कारोबार गर्न सक्ने अवस्था बनाउन यो कदम चालिएको जनाएको छ।

लन्डन विश्वमै भौतिक सुन कारोबारको प्रमुख केन्द्रमध्ये एक हो। बैंक अफ इङ्ग्ल्यान्डमा राखिने सुनले आधुनिक अन्तर्राष्ट्रिय कारोबार मापदण्ड पूरा गर्नुपर्ने भएकाले त्यहाँको सुन तुलनात्मक रूपमा सजिलै कारोबार गर्न सकिने DNB को भनाइ छ। न्यूयोर्क र ओटावामा रहेको सुन संकटका बेला त्यति छिटो र प्रत्यक्ष रूपमा परिचालन गर्न नसकिने बैंकले जनाएको छ।

DNB सँग कुल ६१२.४ टन सुन रहेको छ। सन् २०२५ को अन्त्यमा यसको मूल्य ७२.२ अर्ब युरो रहेको बैंकको विवरणमा उल्लेख छ। स्थानान्तरणपछि कुल सुनको परिमाण भने परिवर्तन भएको छैन।

स्थानान्तरणअघि नेदरल्यान्ड्सको कुल सुनमध्ये ३१.३ प्रतिशत न्यूयोर्क, १९.७ प्रतिशत ओटावा, १८.१ प्रतिशत लन्डन र ३०.८ प्रतिशत नेदरल्यान्ड्सको जाइस्टमा थियो। नयाँ व्यवस्थापछि लन्डनको हिस्सा बढेर ३२.१ प्रतिशत पुगेको छ भने न्यूयोर्क र ओटावामा समान १८.५–१८.५ प्रतिशत राखिएको छ। जाइस्टमा ३०.८ प्रतिशत सुन यथावत् छ।

यो प्रक्रिया सबै सुनका बार अमेरिका र क्यानडाबाट जहाज वा विमानमा राखेर सिधै लन्डन पुर्‍याइएको भने होइन। DNB का अनुसार करिब ५९ टन सुन न्यूयोर्कमा बिक्री गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुन लन्डनमा खरिद गरिएको थियो। थप २७ टनभन्दा बढी सुन अमेरिका र क्यानडाबाट भौतिक रूपमा जाइस्ट सारिएको र त्यति नै परिमाणको कारोबारयोग्य सुन जाइस्टबाट लन्डन पुर्‍याइएको थियो।

DNB का गभर्नर ओलाफ स्लेइपेनले यस कदमले सुन भण्डारको कारोबारयोग्यता सुधारिएको र बैंकको संकट सामना गर्ने क्षमता तथा तयारी बलियो भएको बताएका छन्। बैंकले सुन प्रयोग गर्नुपर्ने अवस्था कहिल्यै नआओस् भन्ने अपेक्षा राखे पनि सम्भावित चरम संकटका लागि तयारी आवश्यक रहेको जनाएको छ।

DNB ले सुनलाई चरम प्रणालीगत जोखिमविरुद्ध सुरक्षा प्रदान गर्ने महत्त्वपूर्ण सञ्चिति सम्पत्ति तथा विश्वासको आधारका रूपमा व्याख्या गरेको छ। पछिल्लो स्थानान्तरणले उत्तर अमेरिका, बेलायत र नेदरल्यान्ड्सबीच सुन भण्डारणको भौगोलिक वितरणसमेत थप सन्तुलित बनाएको बैंकको भनाइ छ।