वीरेन्द्रनगर। कर्णाली प्रदेशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि उपभोक्ता तथा व्यवसायी प्रभावित भएका छन्। सुर्खेतसहित प्रदेशका प्रमुख बजारमा ग्यास लिन बिहानैदेखि लाइन लाग्ने अवस्था देखिएको छ।
सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिमका बजारमा मागअनुसार ग्यास उपलब्ध नभएको व्यवसायीहरूले बताएका छन्। कतिपय डिलरले खाली सिलिन्डर संकलन गरे पनि भरिएको सिलिन्डर दिन सकेका छैनन्।
अभावको असर घरपरिवारसँगै होटल, रेस्टुरेन्ट, बेकरी तथा साना व्यवसायमा परेको छ। भरपर्दो विद्युत् सेवा नभएका स्थानमा विद्युतीय चुलोसमेत प्रभावकारी विकल्प बन्न सकेको छैन।
स्थानीय प्रशासनका अनुसार सुर्खेतमा भेरी ग्यासको दैनिक आवश्यकता करिब एक हजार ८०० सिलिन्डर रहे पनि आपूर्ति ५५० आसपासमा झरेको छ। अन्य कम्पनीका ग्यास पनि मागको तुलनामा कम आइरहेको जनाइएको छ।
नेपाल आयल निगमको सुर्खेत कार्यालयले भने साउन २१ गतेसम्म ३६ हजार ८८३ सिलिन्डर वितरण भइसकेको जनाएको छ। कार्यालयका अनुसार जिल्लाको औसत माग २२ हजारदेखि २६ हजार सिलिन्डर रहे पनि वितरण बढाउँदासमेत लाइन घटेको छैन।
उपभोक्ताले कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका गर्दै प्रभावकारी बजार अनुगमन माग गरेका छन्। प्रशासनले प्रहरीको निगरानीमा वितरण भइरहेको र आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय जारी रहेको जनाएको छ।





० प्रतिक्रिया