काठमाडौं। इन्डोनेसियाको पूर्वी जाभास्थित मदुरा टापुनजिक समुद्रमा यात्रुवाहक फेरीमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्।

अधिकारीहरूका अनुसार मुटियारा सेन्टोसा–२ (Mutiara Sentosa 2) नामक फेरी सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै गर्दा समुद्रमै आगलागी भएको हो। जहाजमा चालक दलसहित कम्तीमा २५० भन्दा बढी व्यक्ति सवार थिए।

आगलागी फैलिनासाथ यात्रुहरूमा भागदौड मच्चिएको थियो। केही यात्रुले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए भने उद्धार टोलीले हालसम्म २२५ जनाभन्दा बढीको सकुशल उद्धार गरेको जनाएको छ। बेपत्ताहरूको खोजीका लागि इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (Basarnas), नौसेना र अन्य आपतकालीन निकाय परिचालन भएका छन्।

प्रारम्भिक जानकारीअनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन। घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। खराब समुद्री अवस्थाका कारण उद्धार कार्य प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

इन्डोनेसिया हजारौँ टापुहरू मिलेर बनेको देश भएकाले समुद्री यातायात व्यापक रूपमा प्रयोग हुने गर्छ। तर सुरक्षा मापदण्डको कमजोरीका कारण यस्ता समुद्री दुर्घटनाहरू समय–समयमा दोहोरिने गरेका छन्।