काठमाडौं — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै आन्दोलनरत परिवार र सरकारबीच शनिबार गृह मन्त्रालयमा वार्ता सुरु भएको छ।

गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरी स्थानीय अभियन्तासहित काठमाडौं आएपछि गृह मन्त्रालयमा सरकारी पक्षसँग छलफल भएको हो।

गरिमाको मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धान, घटनामा संलग्नमाथि कानुनबमोजिम कडा कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्नुपर्ने माग परिवारले राख्दै आएको छ।

यसअघि घटनालाई लिएर बारामा लगातार प्रदर्शन भएको थियो। गरिमाका परिवार सडक धर्नामा बसेपछि वीरगञ्ज–पथलैया सडकखण्डसमेत प्रभावित भएको थियो।

स्थानीय प्रशासनले स्थानीय प्रतिनिधिसँग गरेको सहमतिमा आफूहरूको सहभागिता नरहेको भन्दै परिवारले त्यसलाई अस्वीकार गरेको थियो। त्यसपछि परिवारले सरकारका जिम्मेवार अधिकारीसँग प्रत्यक्ष छलफलको माग गर्दै आन्दोलन जारी राखेको थियो।

शनिबार गरिमाका अभिभावक स्थानीय अभियन्तासहित सिमराबाट काठमाडौं आएका हुन्। त्यसपछि गृह मन्त्रालयमा सरकारी पक्षसँग वार्ता अघि बढाइएको छ।

यसैबीच काठमाडौंसहित विभिन्न स्थानमा गरिमालाई न्याय दिन माग गर्दै नागरिक तथा अधिकारकर्मीले प्रदर्शन गरेका छन्। घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै नागरिकस्तरबाट सरकारमाथि दबाब बढेको छ।

गृहमन्त्री सुदन गुरुङले पनि गरिमालाई न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले अनुसन्धान निष्पक्ष र वैज्ञानिक रूपमा अघि बढाउने तथा दोषी उम्कन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

घटनासँग सम्बन्धित व्यक्तिहरूमाथिको अनुसन्धान र कानुनी प्रक्रिया भने जारी रहेकाले आरोपित व्यक्तिलाई अदालतबाट दोषी ठहर नहुँदासम्म दोषीका रूपमा प्रस्तुत गर्न मिल्दैन।