काठमाडौं । सरकारले देशभरका प्रमुख कृषि उपज बजारमा कारोबार हुने कृषि उत्पादनको दैनिक थोक मूल्य सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ मोबाइल एप सञ्चालनमा ल्याएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि विभागले सञ्चालनमा ल्याएको ‘एएमपिआइएस (AMPIS Nepal)’ एपमार्फत विभिन्न १२ वटा सङ्घीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्यको जानकारी प्राप्त गर्न सकिनेछ।

यो व्यवस्था मन्त्रिपरिषद्को चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत कृषि बजार सूचना प्रणालीलाई डिजिटल माध्यमबाट कृषकसम्म पुर्‍याउने योजनाअनुसार कार्यान्वयनमा ल्याइएको हो।

एपमार्फत कालिमाटीसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी, रुपन्देही, बाँके, सुर्खेत र कैलालीका सङ्घीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, विभिन्न बजारबीचको मूल्य तुलना, मूल्य प्रवृत्ति तथा कृषि मौसमी सल्लाहसम्बन्धी जानकारी हेर्न सकिनेछ।

सरकारका अनुसार यस एपले कृषकलाई बजारको वास्तविक मूल्य समयमै थाहा पाउन सहयोग गर्ने, बिचौलियामाथिको निर्भरता घटाउने तथा कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।