चितवन, भदौ ७। चितवनको भरतपुरमा आफ्नै १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पीडित युवती स्वयं प्रहरी कार्यालयमा पुगेर उजुरी दिएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो। प्रहरीका अनुसार आरोपितले मादक पदार्थ सेवन गरी धम्की दिँदै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोप छ। घटना गत साउन २८ गते भएको पीडितको निवेदनमा उल्लेख छ।
प्रहरीले भदौ ४ गते आरोपितलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार आरोपितकी श्रीमती र छोरा जापानमा रहेका छन्। छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनी करिब आठ महिनाअघि नेपाल आएको र नेपालमा बाबु–छोरी मात्रै बस्दै आएको प्रारम्भिक विवरण प्रहरीले दिएको छ।
घटनाबारे प्रहरीले थप प्रमाण तथा विवरण संकलन गरिरहेको जनाएको छ। आरोप पुष्टि भई अदालतबाट फैसला नभएसम्म पक्राउ परेका व्यक्तिलाई आरोपितकै रूपमा बुझ्नुपर्ने हुन्छ।