काठमाडौं — नेपालमा यस वर्ष जापानी इन्सेफलाइटिस (जेई) को संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने देशभर ५८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२६ मा हालसम्म ५८ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको हो। तीमध्ये १६ जनाको मृत्यु भइसकेको छ।

झापामा संक्रमण र मृत्युदर चिन्ताजनक देखिएको छ। पछिल्लो चार महिनामा जिल्लामा १० जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमित १० जनामध्ये कसैले पनि जापानी इन्सेफलाइटिसविरुद्धको खोप नलगाएको पाइएको छ।

जिल्लामा संक्रमण बढेपछि विश्व स्वास्थ्य संगठन (WHO), स्वास्थ्य अधिकारी तथा खोपसम्बन्धी विज्ञहरू सम्मिलित टोलीले संक्रमणको अवस्था, वातावरणीय जोखिम र समुदायमा रहेका सम्भावित जोखिमका कारणबारे अध्ययन सुरु गरेको छ। अध्ययनबाट प्राप्त निष्कर्षलाई आगामी खोप अभियान तथा अन्य रोकथामका उपाय तय गर्न प्रयोग गरिने बताइएको छ।

झापामा ४० वर्षभन्दा माथिका व्यक्तिमा समेत संक्रमण देखिएपछि खोप नलगाएका ३० वर्षमाथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जापानी इन्सेफलाइटिस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल रोग हो। नेपालमा मनसुनको समयमा यसको जोखिम बढ्ने गरेको छ। स्वास्थ्य अधिकारीहरूले घर तथा आसपास पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन र खोपसम्बन्धी सरकारी निर्देशन पालना गर्न आग्रह गरेका छन्।