कास्की — मोदी नदीमा आएको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार बिहान करिब ८:१५ बजे सशस्त्र प्रहरीको कालिका गण नम्बर २४ अन्तर्गतको विशेष डोरी उद्धार तथा गोताखोर टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूलाई सुरक्षित स्थानमा निकालिएको हो।
उद्धार गरिएकामा पोखराको साराङकोटका २८ वर्षीय प्रदीप ढकाल, वीरेठाँटी माध्यमिक विद्यालयका शिक्षक ३० वर्षीय रेबन्थ प्रसाद सिंह र ५२ वर्षीय निर्माण गिरी छन्।
प्रहरीका अनुसार गिरी भारतीय नागरिक हुन् र उनी विगत पाँच वर्षदेखि मन्दिरमा पुजारीका रूपमा कार्यरत थिए। मोदी नदीमा पानीको बहाव बढेपछि उनीहरू मन्दिर क्षेत्रमै फसेका थिए।
लगातार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले स्थानीय प्रशासन र सुरक्षा निकायले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।









० प्रतिक्रिया