प्यूठान — जिल्लाका विभिन्न नदी किनारमा बिहीबार पाँच वटा अज्ञात शव फेला परेका छन्। प्रारम्भिक विवरणमा चार शव भेटिएको बताइए पनि त्यसपछि माण्डवी गाउँपालिका–५ को अर्थाउस क्षेत्रमा अर्को पुरुषको शव भेटिएपछि संख्या पाँच पुगेको हो।
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी नदी किनारमा करिब १२ देखि १३ वर्ष उमेरका बालकको शव भेटिएको थियो। त्यसपछि स्वर्गद्वारी–३ किमिचौरमा एक पुरुष, वडा नम्बर ४ गोठीबाङमा एक महिला र वडा नम्बर ५ सरोजास्थित लुङ्ग्री नदी किनारमा अर्की महिलाको शव फेला परेको हो।
पछिल्लो शव माण्डवी गाउँपालिका–५ अन्तर्गत नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ। मृतक कसैको पनि पहिचान खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय प्यूठानले घटनास्थलमा प्रहरी टोली परिचालन गरी शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ। शवहरू बाढीले माथिल्लो क्षेत्रबाट बगाएर ल्याएको हुन सक्ने सम्भावनासमेत अनुसन्धानमा समेटिएको छ। प्रहरीले रोल्पाको थवाङ क्षेत्रमा गएको पहिरो र त्यसपछि आएको बाढीसँग घटनाको सम्बन्ध भए–नभएको पनि जाँच गरिरहेको जनाएको छ।