काठमाडौं। सुनसरीको धरानमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित एक घरमा डेरा गरी बस्दै आएका पाँच जनालाई प्रहरीले विशेष सूचनाका आधारमा छापा मारेर नियन्त्रणमा लिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रदेश अनुसन्धान टोली (पीआईटी) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार घरमा खानतलासी गर्दा १२४ ग्राम ४७ मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धरान–१५ का २५ वर्षीय सौरभ जिमी, धरान–२० का २२ वर्षीय सुगम राई, धरान–१४ का २१ वर्षीय अविजित निरौला, धरान–१३ का २५ वर्षीय आशिष राई तथा मोरङको लेटाङ नगरपालिका–१ का २६ वर्षीय हरि लिम्बू रहेका छन्।
प्रहरीले ब्राउन सुगरसँगै नाइट्राजेपामका ४४५ ट्याब्लेट, स्पास्पेनका ६५ ट्याब्लेट र ट्रामाडोलका १५ क्याप्सुलसमेत बरामद गरेको छ। लागुऔषधसँग सम्बन्धित सामग्री फेला परेपछि प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। बरामद लागुऔषधको स्रोत, सम्भावित कारोबार तथा घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
धरानमा ठूलो परिमाणमा लागुऔषध बरामद हुनु स्थानीय सुरक्षा र युवापुस्तामा बढ्दो लागुऔषधको जोखिमप्रति गम्भीर चासोको विषय बनेको छ। यस्ता अवैध गतिविधि नियन्त्रण गर्न प्रहरी प्रशासनले निगरानी तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
स्रोत: जिल्ला प्रहरी कार्यालय तथा विभिन्न सञ्चारमाध्यमको समाचार विवरण।









० प्रतिक्रिया