महाराष्ट्र, भारत। भारतको महाराष्ट्रस्थित धुले जिल्लाको तापी नदीमा नवविवाहित जोडीको शव फेला परेको छ। करिब चार महिनाअघि विवाह गरेका श्रीमान्–श्रीमतीको शव एकअर्कालाई खुट्टा र हात बाँधेर नदीमा फालिएको अवस्थामा भेटिएको हो।
मृतक ३५ वर्षीय श्याम हरि पाटिल र उनकी २९ वर्षीया श्रीमती सपना पाटिल जलगाउँ जिल्लाको अमलनेर क्षेत्रका बासिन्दा रहेको समाचारमा उल्लेख छ। उनीहरू धुले जिल्लाको सावलदे क्षेत्रमा नदी नजिकै फेला परेका हुन्।
स्थानीय बासिन्दाले नदी नजिकै मोटरसाइकल पार्क गरिएको देखेका थिए। त्यसको भोलिपल्ट बिहीबार दिउँसो करिब साढे १२ बजे नदीमा दुई जनाको शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले खोजतलास गर्ने क्रममा दुवै जनाको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला पारेको थियो। प्रहरीले मोटरसाइकलको नम्बरका आधारमा मृतकको पहिचान गरी शव पोस्टमार्टमका लागि पठाएको जनाएको छ।
प्रहरीको अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित अर्को महत्त्वपूर्ण विवरण पनि बाहिर आएको छ। श्यामले बुधबार बिहान करिब १ बजे आफ्ना सालोलाई फोन गरेका थिए। फोन काट्नुअघि उनले ‘सबै कुरा सकियो’ र ‘म जाँदै छु’ भनेका थिए। त्यसपछि सालाले पटक–पटक फोन गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन।
प्रहरीले फोनमा भएको कुराकानी र घटनास्थलबाट प्राप्त प्रमाणका आधारमा अनुसन्धान गरिरहेको छ। दुवै जनाको मृत्युको वास्तविक कारण तथा उनीहरूको हत्या कसले गरेको हो भन्ने विषयमा प्रहरीले अहिलेसम्म अन्तिम निष्कर्ष सार्वजनिक गरेको छैन।