काठमाडौं । नेपाल सरकारले अवैध अनलाइन सट्टेबाजी तथा जुवाविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउँदै नेपालभित्र सञ्चालनमा रहेका २६ वटा Registered Betting Apps बन्द गरेको जनाएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म देशभरका सबै इन्टरनेट सेवा प्रदायक (ISPs) सँगको समन्वयमा अवैध अनलाइन सट्टेबाजी तथा जुवासँग सम्बन्धित ३,०५,६६३ वटा डोमेन लिङ्कसमेत बन्द (ब्लक) गरिएको छ।

मन्त्रालयका अनुसार डिजिटल माध्यमको दुरुपयोग नियन्त्रण गर्दै सुरक्षित, जिम्मेवार र कानुनसम्मत डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यले यस्तो अभियानलाई निरन्तर अघि बढाइएको हो।

सरकारले अनलाइन माध्यमबाट हुने अवैध सट्टेबाजी, जुवा तथा कानुनविपरीतका डिजिटल गतिविधिमाथि निगरानीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, सर्वसाधारणलाई पनि कानुनविपरीतका डिजिटल प्लेटफर्म प्रयोग नगर्न र सुरक्षित डिजिटल अभ्यास अपनाउन आग्रह गरिएको छ।