नेपालमा विद्यार्थीले एउटा विश्वविद्यालय वा शैक्षिक कार्यक्रमबाट हासिल गरेको शैक्षिक क्रेडिट अर्को विश्वविद्यालय वा कार्यक्रममा स्थानान्तरण गर्न सक्ने आधार तयार भएको छ।
विश्वविद्यालय अनुदान आयोगले ‘Academic Credit Bank Establishment and Operation Directive 2026’ जारी गर्दै नेपाल तथा विदेशका विश्वविद्यालयमा विद्यार्थीले हासिल गरेका शैक्षिक क्रेडिटलाई व्यवस्थित रूपमा अभिलेख गर्ने र आवश्यकताअनुसार स्थानान्तरण गर्न सक्ने व्यवस्था अघि बढाएको हो।
निर्देशिकाअनुसार स्नातक तहमा हासिल गरिएको क्रेडिट सात वर्षसम्म र स्नातकोत्तर तहको क्रेडिट पाँच वर्षसम्म प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसले कुनै कारणले अध्ययन बीचमै रोकिएका विद्यार्थीलाई निश्चित अवधिभित्र पुनः अध्ययनमा फर्किँदा पहिले हासिल गरेको क्रेडिट उपयोग गर्ने अवसर दिनेछ।
त्यस्तै, विद्यार्थीले नयाँ शैक्षिक कार्यक्रममा प्रवेश गर्दा अधिकतम ५० प्रतिशतसम्म क्रेडिट ट्रान्सफर गर्न सक्ने व्यवस्था रहेको छ। यसका लागि सम्बन्धित शैक्षिक संस्था र कार्यक्रमबीच पाठ्यक्रम तथा क्रेडिटको समकक्षतालगायत आवश्यक मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
यो प्रणालीले विश्वविद्यालय परिवर्तन गर्नुपर्ने, अध्ययनको विषय वा कार्यक्रम परिवर्तन गर्न चाहने तथा विदेशमा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थीका लागि शैक्षिक निरन्तरता सहज बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
शैक्षिक क्रेडिटलाई साझा राष्ट्रिय संरचनामा व्यवस्थापन गर्ने अभ्यासले उच्च शिक्षामा विद्यार्थीको गतिशीलता बढाउनुका साथै पहिले अध्ययन गरिसकेको विषय पुनः सुरुदेखि पढ्नुपर्ने अवस्था कम गर्न सक्नेछ।
नयाँ व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न विश्वविद्यालय तथा उच्च शिक्षाका संस्थाबीच क्रेडिटको मूल्यांकन, समकक्षता र अभिलेखीकरणमा समन्वय महत्वपूर्ण हुनेछ।




० प्रतिक्रिया