काठमाडौं — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालको क्रिकेट यात्रालाई ‘हिमालयन फेयरटेल’ अर्थात् हिमालयको परी-कथाजस्तो उन्नतिको यात्राका रूपमा चित्रण गर्दै विश्व क्रिकेटमा नेपालको सम्भावनालाई उच्च रूपमा मूल्यांकन गरेको छ।

आईसीसीका प्रमुख कार्यकारी सञ्जोग गुप्ताले नेपालको क्रिकेट विकासलाई अफगानिस्तानको तीव्र उन्नतिसँग तुलना गर्दै नेपालले भविष्यमा उच्चस्तरको एसोसिएट टोलीका रूपमा स्थापित हुने सम्भावना रहेको बताएका छन्। रिपोर्टअनुसार नेपालको क्रिकेटमा बढ्दो प्रतिभा, समर्थकको बलियो आधार र अन्तर्राष्ट्रिय प्रदर्शनले यस्तो सम्भावनालाई बल दिएको छ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएपछि क्रिकेट देशको सबैभन्दा लोकप्रिय खेलमध्ये प्रमुख बनेको छ। आईसीसीले नेपालको क्रिकेट पूर्वाधारमा करिब ५० लाख अमेरिकी डलर लगानी गरिसकेको र नेपाललाई २०२७ को यू–१९ महिला विश्वकपको सहआयोजकको अधिकारसमेत दिएको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताले घरेलु क्रिकेटको आम्दानी र विकासमा समेत योगदान पुर्‍याएको आईसीसीको मूल्यांकनमा उल्लेख छ। पछिल्ला अन्तर्राष्ट्रिय प्रदर्शन, नयाँ खेलाडी सम्झौता र पूर्वाधार विस्तारका योजनाले नेपाली क्रिकेटलाई थप प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

यद्यपि, नेपालको क्रिकेट विकासलाई दीर्घकालीन रूपमा अघि बढाउन निरन्तर प्रदर्शन, पूर्वाधारमा लगानी र अन्तर्राष्ट्रिय अवसरको विस्तार आवश्यक रहने क्रिकेट क्षेत्रका जानकारहरूको धारणा छ। आईसीसीको पछिल्लो मूल्यांकनले भने विश्व क्रिकेटमा नेपालको बढ्दो प्रभाव र सम्भावनालाई थप उजागर गरेको छ।