काठमाडौं । नेपाल सरकारले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ मा २०८३ साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, उक्त घटनापछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति पनि सरकार गम्भीर रहेको उल्लेख गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिअनुसार घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको छ।

सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयमार्फत छानबिन समिति गठन गरिसकेको जनाएको छ। समितिलाई घटनाको वास्तविकता पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

त्यस्तै, पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने तथा घटनामा संलग्न दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने सरकारको प्रतिबद्धता विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा द्वन्द्वबाट सम्भव नहुने उल्लेख गर्दै नेपाली समाजमा कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।

साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने भ्रामक तथा उत्तेजनात्मक सूचनाबाट प्रभावित नहुन र संयमता अपनाउन पनि सरकारको अपिल छ।

यस परिस्थितिमा मुलुकभर शान्ति, सुरक्षा, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिक समुदायसँग सरकारले सहकार्य र सहयोगको आह्वान गरेको छ।

FB IMG 1785252472194