फेसबुक प्रयोगकर्ताको प्रोफाइलमा नयाँ प्रकारको verification badge देखिन थालेको छ। Meta ले जुलाई २०२६ मा घोषणा गरेको ‘Facebook Verified’ नामको यो सुविधा विशेषगरी प्रोफाइल पछाडि वास्तविक व्यक्ति रहेको पुष्टि गर्न ल्याइएको हो।

यसअघि फेसबुकमा verification badge भन्नासाथ सार्वजनिक व्यक्ति, चर्चित ब्रान्ड वा Meta Verified सदस्यतासँग जोडिएको निलो चेकमार्क बुझिने गरेको थियो। तर नयाँ Facebook Verified त्यसबाट फरक छ। Meta का अनुसार यसको मुख्य उद्देश्य कुनै व्यक्ति चर्चित छ भन्ने प्रमाणित गर्नु होइन, प्रोफाइल चलाउने व्यक्ति वास्तविक हो भन्ने संकेत दिनु हो।

कसरी हुन्छ Facebook Verified?

योग्य प्रयोगकर्ताले छोटो video selfie मार्फत आफ्नो पहिचान प्रमाणित गर्न सक्छन्। Meta ले उक्त selfie लाई प्रयोगकर्ताको Facebook प्रोफाइलमा रहेका फोटोसँग तुलना गरेर व्यक्ति उही हो कि होइन जाँच गर्छ। प्रक्रिया सफल भएपछि Facebook Verified badge उपलब्ध हुन्छ। Meta का अनुसार यसका लागि कुनै subscription fee लाग्दैन।

यो सुविधा अहिले चरणबद्ध रूपमा विभिन्न बजारमा विस्तार भइरहेको छ। त्यसैले सबै Facebook प्रयोगकर्ताको account मा एकैपटक verification option उपलब्ध नहुन सक्छ।

चेकमार्क देखियो भन्दैमा Facebook को समर्थन होइन

यसको एउटा महत्वपूर्ण सीमा पनि छ। Facebook Verified badge पाएको व्यक्तिलाई Meta ले समर्थन गरेको, उसको हरेक पोस्ट सही भएको वा उक्त व्यक्ति पूर्ण रूपमा विश्वासयोग्य भएको प्रमाण भने यो होइन।

Meta स्वयंले badge को अर्थ वास्तविक व्यक्ति भएको पुष्टि मात्र भएको स्पष्ट गरेको छ। प्रयोगकर्ताले Facebook का Community Standards लगायत अन्य नियम पालना गर्नुपर्ने व्यवस्था यथावत् रहन्छ।

कहाँ-कहाँ देखिन्छ?

Meta ले सुरुमा Profile, Marketplace, Dating र Groups जस्ता क्षेत्रमा यो badge देखाउने जनाएको छ। पछि Feed का पोस्टमा समेत विस्तार गर्ने योजना छ। विशेषगरी AI बाट नक्कली फोटो, profile तथा scam account बनाउन सजिलो हुँदै गएको अवस्थामा वास्तविक व्यक्ति छुट्याउन यस्तो verification उपयोगी हुने Meta को तर्क छ।

Meta Verified र Facebook Verified एउटै होइनन्

यहाँ प्रयोगकर्ता झुक्किन सक्ने मुख्य विषय यही हो। Facebook Verified नयाँ निःशुल्क identity-verification सुविधा हो। अर्कोतर्फ Meta Verified छुट्टै paid subscription हो, जसमा verification सहित impersonation protection र account support जस्ता अतिरिक्त सुविधा समावेश हुन्छन्।

नयाँ निःशुल्क Facebook Verified हाल व्यक्तिगत profile का लागि लक्षित छ। Meta का अनुसार Pages र Professional Mode (ProMode) account यसमा योग्य छैनन्। प्रयोगकर्ता कम्तीमा १८ वर्षको हुनुपर्ने र account ले fraud, scam तथा deceptive practices सम्बन्धी Community Standards पूरा गरेको हुनुपर्ने व्यवस्था छ।

त्यसैले फेसबुकमा नयाँ verification badge देखिएपछि त्यसलाई पुरानो blue tick कै अर्को रङ भनेर मात्र बुझ्नु सही हुँदैन। Badge कुन verification कार्यक्रमअन्तर्गत आएको हो भन्ने हेर्नु आवश्यक हुन्छ।

नेपालमा पनि यो सुविधा उपलब्ध हुँदै गएमा Facebook Marketplace लगायत क्षेत्रमा नक्कली profile र वास्तविक व्यक्तिबीच प्रारम्भिक भिन्नता छुट्याउन सहयोग पुग्न सक्छ। तर badge मात्रै हेरेर आर्थिक कारोबार वा संवेदनशील जानकारी आदानप्रदान गर्नु सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी भने हुँदैन।