एप्पलले युरोपेली संघ (EU) मा एप वितरण गर्ने डेभलपरका लागि आफ्नो व्यावसायिक सर्त तथा शुल्क संरचनामा महत्वपूर्ण परिवर्तन घोषणा गरेको छ। युरोपेली आयोगसँगको सहकार्यपछि ल्याइएको नयाँ व्यवस्था आगामी अक्टोबर १ देखि लागू हुने कम्पनीले जनाएको छ।

एप्पलका अनुसार नयाँ व्यवस्थाले EU मा एप वितरण गर्ने डेभलपरलाई एउटै व्यावसायिक सर्तअन्तर्गत ल्याउनेछ। डेभलपरहरूले नयाँ सर्तमा अहिलेबाटै सहमति जनाउन सक्नेछन्।

नयाँ संरचनामा यसअघि ठूलो स्तरमा एप वितरण गर्ने डेभलपरसँग प्रति-इन्स्टलका आधारमा लिइँदै आएको ‘Core Technology Fee’ हटाएर ‘Core Technology Commission’ लागू गरिनेछ। App Store बाहिर वैकल्पिक एप मार्केटप्लेस वा वेबमार्फत वितरण हुने एपका डिजिटल कारोबारमा यो कमिसन ५ प्रतिशत हुनेछ।

App Store मार्फत वितरण हुने एपले Apple In-App Purchase प्रयोग गरेमा सामान्य कमिसन २६ प्रतिशत हुनेछ। तर App Store Small Business Program लगायत निश्चित कार्यक्रमका अधिकांश योग्य डेभलपर तथा पहिलो वर्षपछिका स्वतः नवीकरण हुने सदस्यतामा १५ प्रतिशत दर लागू हुनेछ।

त्यस्तै, App Store भित्र वैकल्पिक भुक्तानी प्रणाली प्रयोग गर्ने एपका लागि सामान्य कमिसन २० प्रतिशत र निश्चित कार्यक्रमअन्तर्गतका योग्य डेभलपरका लागि १० प्रतिशत तोकिएको छ। एपबाट बाहिरी वेबसाइटमा लगेर खरिद पूरा गराउने अवस्थामा सामान्यतया १५ प्रतिशत र योग्य कार्यक्रमका डेभलपरका लागि १० प्रतिशत कमिसन लाग्नेछ।

नयाँ नियमपछि EU का डेभलपरले Apple In-App Purchase सँगै वैकल्पिक भुक्तानी विकल्प पनि उपलब्ध गराउन सक्नेछन्। डेभलपरले Apple In-App Purchase, एपभित्रको वैकल्पिक भुक्तानी, वेबसाइटमा जाने लिंक वा यी विकल्पको संयोजन छनोट गर्न सक्नेछन्। छनोट गरिएको भुक्तानी व्यवस्था १२ महिनासम्म कायम राख्नुपर्ने एप्पलले जनाएको छ।

बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै Kids श्रेणीका एपबाट कारोबारका लागि बाहिरी वेबसाइटमा लैजाने लिंक राख्न नपाइने व्यवस्था गरिएको छ। १८ वर्षमुनिका प्रयोगकर्ताले वैकल्पिक भुक्तानी वा वेबसाइटमार्फत कारोबार गर्ने एप प्रयोग गर्दा अभिभावकलाई सहभागी गराउने ‘parental gate’ आवश्यक हुनेछ। १३ वर्षमुनिका प्रयोगकर्ताका लागि भने App Store का एपले कारोबार गर्न बाहिरी वेबसाइटमा लैजान पाउने छैनन्।

एप्पलले EU मा वैकल्पिक एप मार्केटप्लेस सञ्चालन वा वेबमार्फत एप वितरण गर्न योग्य हुने संस्था तथा कम्पनीको दायरा पनि विस्तार गरेको छ। वित्तीय स्थायित्वका निश्चित मापदण्ड पूरा गरेका कम्पनी, सार्वजनिक रूपमा कारोबार हुने कम्पनी, स्थापित लगानी संस्थाबाट भेन्चर फन्डिङ प्राप्त गरेका व्यवसाय, लाइसेन्सप्राप्त लेखापरीक्षकबाट वित्तीय अडिट गराएका संस्था तथा सरकारी निकाय, शैक्षिक संस्था र गैरनाफामूलक संस्था पनि निश्चित सर्तमा योग्य हुन सक्नेछन्।

App Store बाहिर वितरण हुने एपमा पनि आधारभूत कार्यक्षमता तथा गम्भीर सुरक्षा जोखिम जाँच गर्न एप्पलको ‘Notarization’ प्रक्रिया भने जारी रहने कम्पनीले स्पष्ट पारेको छ।