काठमाडौं । राष्ट्रिय परिचयपत्र (NID) तथा ई–केवाईसी अद्यावधिक गर्ने नाममा बैंक तथा डिजिटल वालेटका ग्राहकलाई लक्षित गरी ठगीका प्रयास बढिरहेका छन्। अपरिचित नम्बरबाट आउने फोन, एसएमएस वा ह्वाट्सएप सन्देशमा पठाइएका लिंक खोलेर व्यक्तिगत तथा बैंकिङ विवरण नदिन सम्बन्धित निकायहरूले सतर्क गराएका छन्।
पछिल्लो समय ठगी गर्ने व्यक्तिले आफूलाई बैंक वा डिजिटल वालेटको कर्मचारीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिचयपत्र वा ई–केवाईसी अपडेट नगरे बैंकिङ सेवा बन्द हुने जस्ता सन्देश पठाउने गरेका छन्। त्यसपछि नक्कली वेबसाइट वा लिंकमार्फत OTP, PIN, पासवर्डलगायत संवेदनशील विवरण प्राप्त गर्ने प्रयास हुने गरेको छ।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्ने व्यवस्था छ। नयाँ खाता खोल्ने क्रममा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा ग्राहक पहिचान यकिन गर्ने व्यवस्था पनि लागू छ।
तर राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक नगरेकै कारण असोज मसान्तपछि बैंक खाता स्वतः बन्द, ब्लक वा फ्रिज हुने भन्ने प्रचार भने सही नभएको तथ्यजाँचमा देखिएको छ। राष्ट्र बैंकको परिपत्रमा तोकिएको अवधिमा विवरण नबुझाएकै आधारमा खाता स्वतः ब्लक वा फ्रिज गर्ने व्यवस्था उल्लेख नभएको र राष्ट्र बैंकका प्रवक्ताले समेत त्यस्तो दाबी गलत भएको स्पष्ट पारेका छन्।
यसै विषयलाई दुरुपयोग गर्दै ठगी गर्नेहरूले ग्राहकमा डर सिर्जना गरी नक्कली लिंकमा क्लिक गराउने जोखिम बढेको छ। त्यसैले राष्ट्रिय परिचयपत्र वा केवाईसी अद्यावधिक गर्नुपर्ने सन्देश प्राप्त भएमा सन्देशमा आएको अपरिचित लिंक प्रयोग गर्नुको सट्टा सम्बन्धित बैंकको आधिकारिक एप, वेबसाइट, शाखा वा आधिकारिक सम्पर्क माध्यमबाट जानकारी पुष्टि गर्नु सुरक्षित हुन्छ।
बैंक तथा डिजिटल वालेटले फोन वा सन्देशमार्फत ग्राहकसँग OTP माग्दैनन्। OTP, PIN र पासवर्डजस्ता गोप्य विवरण कसैलाई पनि उपलब्ध नगराउन तथा शंकास्पद वेबसाइट वा एपमा बैंकिङ विवरण प्रविष्ट नगर्न साइबर सुरक्षासम्बन्धी चेतावनी दिइएको छ।









० प्रतिक्रिया